काठमाडौँ - अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनियोले कतार विश्व कप अहिलेसम्मकै उत्कृष्ट विश्व कप भएको दाबी गरेका छन्।
फिफा काउन्सिलको बैठकपछि अध्यक्ष इन्फान्टिनियोले दर्शकको उपस्थिति, टिमको व्यवस्थापन र अन्य हिसाबले यो विश्व कप निकै उत्कृष्ट रहेको बताएको बीबीसीले जनाएको छ। उनले अहिलेसम्मकै उत्कृष्ट विश्व कप आयोजना गरेकोमा कतार सरकारलाई धन्यवाद पनि दिएका छन्।
कतार जस्तो धार्मिक रुपमा अडिग देशमा समर्थकले खेलको मज्जा लिन पाएको, महिला रेफ्रीले खेल खेलाएको र लाखौँ विदेशीले कतार बसाइका क्रममा खुसी मनाएको लगायतका कारण विश्व कप अविस्मरणीय भएको उनको भनाइ छ। यो विश्व कपले फुटबललाई अझै विश्वव्यापी बनाउन ठूलो भूमिका खेलेको अध्यक्ष इन्फान्टिनियोले बताएका छन्।
कतार विश्व कपको तयारीको क्रममा मानवअधिकार लगायतका केही विषय उठे पनि अहिले संसारभरका करोडौँ दर्शकले फुटबलको मज्जा लिइरहेकाले यस्ता विषयलाई उपयुक्त र सम्बन्धित ठाउँमा स्थान दिन फिफाका अध्यक्ष इन्फान्टिनियोले आग्रह गरेका छन्।