काठमाडौँ - युवा स्टार ह्यारी टेक्टर र अनुभवी खेलाडी पउल स्टर्लिङले सानदार शतक प्रहार गरेपछि रोमान्चक तेस्रो ओडिआई खेलमा आयरल्यान्ड न्युजिल्यान्डसँग एक रनले पराजित भएको छ। योसँगै ३ ओडिआई खेलको सिरिज न्युजिल्यान्डले क्लिनस्विप गरेको छ।
जितको लागि ३ सय ६१ रनको विशाल विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ५९ रन बनायो। आयरल्यान्डलाई अन्तिम ६ बलमा १० रन चाहिँएको थियो।
क्रेग योंगले तेस्रो बलमा चौका प्रहार गरेपछि बाँकी ३ बलमा ५ रन चाहिँएको थियो। चौथो बलमा योंग २ रन लिनेक्रमा रन आउट भए। पाँचौ बलमा जोश लिटिलले १ रन बटुले। अन्तिम बलमा १ रन लेग वाईको रुपमा बटुल्दा १ रनले पराजित हुन पुग्यो।
आयरल्यान्डका पल स्टर्लिङले १ सय ३ बलमा १४ चौका र ५ छक्कासहित १ सय २० रनको सानदार शतकीय इनिङ खेलेका थिए। ओडिआई करिअरको उनको १३ औं शतक हो। मध्यक्रमका ह्यारी टेक्टरले १ सय ६ बलमा ७ चौका र ५ छक्कासहित १ सय ८ रनमा आउट भए। २२ वर्षीय टेक्टरको यो दोस्रो शतक हो।
स्टर्लिङ र टेक्टरले तेस्रो विकेटका लागि १सय ५० बलमा १ सय ७९ रनको सानदार साझेदारीका साथ जितको आधार तय गरेका थिए। तर तल्लोक्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्द पराजित भएको हो।
स्टर्लिङ म्याट हेनरीको बलमा ग्लेन फिलिप्सबाट क्याच आउट हुँदा आयरल्यान्ड ३४.४ ओभरमा २४१-३ को बलियो अवस्थामा थियो। तर फिनिसिङ राम्रो नहुँदा पराजित भयो।
जर्ज डोकरेल र ग्यारेथ डेलानी २२-२२ रनमा आउट भए। न्युजिल्यान्डका म्याट हेनरीले १० ओभरमा ६८ रन खर्चेर ४ विकेट लिएका थिए। मिचेल सान्टनरले १० ओभरम ७१ रन खर्चेर ३ विकेट लिए।
त्यसअघि डब्लिनमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ६० रन बनाएको थियो।न्युजिल्यान्डका मार्टिन गुप्टिलले १ सय २६ बलमा १५ चौका र २ छक्कासहित १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए। यो उनको ओडिआई करिअरको १८ औं शतक हो।
हेनरी निकोल्स ५४ बलमा ७ चौका र ३ छक्कासहित ७९ रनमा आउट भए। ग्लेन फिलिप्स ३० बलमा ५ चौका र २ छक्कासहित ४७ रन, फिन एलेन ३३ र कप्तान टम लाथम ३० रनमा आउट भए।
आयरल्यान्डका जोश लिटिलले सर्वाधिक २ विकेट लिए। न्युजिल्यान्ड पहिलो खेलमा १ विकेट र दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो। अब ३ टि-२० आई खेलको सिरिज हुनेछ।