काठमाडौँ – केही दिनअघि अकस्मात विघटन भएको सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले गठबन्धन टुट्नुमा आफूलाई देखाएकोप्रति असन्तुष्टि जनाएका छन्।
नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा.महतले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले प्रधानमन्त्री पुष्पमकल दाहालप्रति असन्तुष्टि देखाएका हुन्। महतले आफूलाई लगाएको दोषप्रति असन्तुष्टि देखाउँदै उक्त आरोपको खण्डन गरेका छन्।
महतले आफूले अर्थमन्त्रीको जिम्मेवारी लिँदै गर्दा खेरि अर्थतन्त्रलाई लयमा फर्काउने प्रयास गरेको दाबी गरेका छन्। ‘आर्थिक सहायता जथाभावी बाँड्नुभएन । गर्नैपर्ने बाहेकका आर्थिक सहायता दिनु हुँदैन भन्ने मान्यता मैले राखेँ,’ उनले भने।
महतले २० वर्षअघिको शान्ति सम्झौताअनुरुप १० लाखका दरले आर्थिक सहायता बाँड्ने प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेको दाबी गरेका छन्।
उनले भने, ‘२० वर्ष अघिको शान्ति प्रक्रिया अनुरुप घाइते र सहिद परिवारलाई आर्थिक सहायता बाँड्ने प्रस्ताव आयो मैले अस्वीकार गरेँ,त्यसबेला प्रधानमन्त्री सहमत हुनुभएको हो। तर, त्यही कुरालाई लिएर हुनसक्छ, उहाँले असन्तुष्टि सार्वजनिक गर्नुभएको। प्रधानमन्त्रीले कुनै लिष्ट देखाउनुभएको थिएन, हामी सरकारबाट बाहिरएपछि करिब २६ सयको लिष्ट सार्वजनिक भएको देखियो। लिष्ट बनाएर १०/१० लाख बाँड्ने कुरा आयो त्यसलाई मान्न सक्ने अवस्था थिएन।’
महतले सालाखाला भन्दा उपलब्धि नहुने देखेपछि गठबन्धन फेर्ने निर्णयमा पुगेको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति इंगित गर्दै भने, ‘मितव्ययी हुँदा, सुशासन सुनिश्चित गर्दा, दुरुपयोग नगर्दा उपलब्धि नहुने हो? भन्दै प्रश्न गरेर उक्त कुरामा सहमत हुन नसक्ने बताए।’
सरकारले जति उपलब्धि हासिल गरेको हो, त्यो कांग्रेसकै कारण सम्भव भएको महतको दाबी थियो। महतले आगामी वैशाखमा हुने लागानी सम्मेलनमा धेरै लगानीकर्ता लगानी गर्न तयार रहेको बताउँदै उक्त सम्मेलनमार्फत धेरैभन्दा धेरै वैदेशिक लगानी भित्र्याउने गरी आफूले काम गरेको दाबी गरे।
पुँजीगत खर्चको प्रभावकारिता बढाउन, बजेट प्रणालीमा सुधार ल्याउन, रु तीन करोडभन्दा कम बजेटका आयोजना प्रदेश र स्थानीय तहले नै गर्न दिने गरी काम गरिरहेका थियौँ भन्दै डा, महतले वैदेशिक लगानी भित्र्याउन कानुन परिमार्जनको काम अगाडि बढाएको उल्लेख गरे।
अर्को एक फरक प्रसङ्गमा उनले नेपाली कांग्रेस तत्कालीन सत्तागठबन्धनकै पक्षमा रहेको र कांग्रेसको महासमिति बैठकले पनि सोही गठबन्धनलाई निरन्तरता दिने नै निर्णय गरेको प्रतिक्रिया दिए।
गठबन्धन धर्मराउने एक प्रमुख कारण अर्थमन्त्री पनि भएको माओवादीको आरोप छ। प्रचण्डले काँग्रेसबाट मन्त्री बनेकाहरुको कार्यशैली नरुचाउँदै हेरफेर गर्न काँग्रेस सभापति शेर बहादुर देउवालाई पटक पटक आग्रह गरेका थिए।
देउवाले सरकार र गठबन्धनमा अस्थिरता निम्तने भन्दै मन्त्री फेर्न रुचि देखाएका थिएन्। प्रधानमन्त्रीले नरुचाएका काँग्रेसका मन्त्रीहरुमा अर्थमन्त्री महत, स्वास्थ्यमन्त्री मोहन बस्नेत, उद्योगमन्त्री रमेश रिजाललगायत थिए।