कांग्रेसको १४औँ महाधिवेशनको आजदेखि

काठमाडौँ ।  नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ।

महाधिवेशन उद्घाटनको सम्पूणर् तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन्। उद्घाटन समारोहमा कांग्रेसका शीर्षनेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका अतिथिले सम्बोधन गर्ने पार्टी कार्यालयका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए। उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा तयार गरिएको छ। कोभिड-१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्तरूपमा आउने सहभागी मात्र उद्घाटनमा रहने उनले बताए।

सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँचवटा डिस्प्ले राखिएको छ। सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै ठाउँ बनाइएको छ भने सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ। महाधिवेशनस्थलमा पार्टीका झण्डा र रुख अङ्कित चुनाव चिह्न भएको झण्डाले सिङ्गारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागतद्वारसमेत राखिएको छ। यसैगरी, महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ। यस महाधिवेशनमा ४ हजार ७०० महाधिवेशन प्रतिनिधि रहनेछन्। अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेका र उनीहरुका लागि आवश्यक महाधिवेशनसम्बन्धी विवरणसहित झोला वितरण गर्ने काम बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सुरु गरिसकेको पार्टी कार्यालयले जनाएको छ। महाधिवेशन प्रतिनिधिका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको बगैँचामा हुने र बासका लागि राजधानीका विभिन्न होटलमा व्यवस्था गरिएको छ।

यसैगरी, बन्दसत्र हुने भृकुटीमण्डपको हलमा पनि ठूलो मञ्च तयार हुनुका साथै हलभित्र पनि सातवटा डिस्प्ले राखिएको छ। महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारी साधनको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×