काठमाडौँ - महिला क्रिकेटमा नेपाल पुलिसले डेब्यु गरेको संस्करणमै स्वर्ण पदक जितेको छ। पोखरामा सञ्चालन भइरहेको नवाैँ राष्ट्रिय खेलकुदको फाइनलमा पुलिसले एपिएफलाई ५ रनले पराजित गर्दै स्वर्ण जितेको हो।
पहिला ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाउँदै ८९ रन बनाएको थियो। पुलिसकी काजल श्रेष्ठले सर्वाधिक २७ रन बनाएकी थिइन्। सम्झना खड्काले २१ रन र कविता जोशीले नटआउट १३ रनको योगदान दिएका थिए।
एपिएफका लागि नेरी थापा, इन्दु बर्मा र कप्तान सीता रानामगरले १/१ विकेट लिएका थिए। एपिएफले २० ओभरमा ७ विकेट गुमाउँदै ८४ रन मात्र बनाएको थियो। एपिएफकी रोमा थापाले सर्वाधिक २६ रनको योगदान दिइन्।
राजमती ऐरीले १२ रन बनाउँदा अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्। पुलिसलाई स्वर्ण पदक दिलाउन ईश्वरी विष्टले २ विकेट लिएकी थिइन्। रुबिना क्षेत्री, संगीता राई र हिरनमयी रोयले १/१ विकेट लिएका थिए।
तेस्रो स्थानका लागि भएको खेलमा बागमतीले लुम्बिनीलाई ७ विकेटले पराजित गर्दै कांस्य पदक जितेको छ।