काठमाडौँ - अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) ले विश्व फुटबल महासंघ (फिफा)लाई प्रतिबन्ध हटाउन अनुरोधसहित पत्र लेखेको छ।
सर्वोच्च अदालतद्वारा प्रशासनिक समिति (सीओए) भंग गरेपछि एआईएफएफले पत्र लेख्दै निर्णयमाथि पुनर्विचार गर्न अनुरोध गरेको हो। अल इन्डिया फुटबल फेडेरेसनमा बाहिरी शक्ति हावी भएपछि फिफाले प्रतिबन्ध लगाएको थियो।
भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेको थियो। तर फिफाले यस्तो नगर्न चेतावनी दिँदै आएको थियो।
एआईएफएफको चुनाव फिफा परिषद्का सदस्य प्रफुल्ल पटेलको नेतृत्वमा सन् २०२० डिसेम्बरसम्म हुनुपर्ने थियो, तर ढिलाई भएको थियो। भारतले आफ्नो ८५ वर्षे फुटबल इतिहासमा पहिलो पटक फिफाको निलम्बन व्यहोर्नुपरेको हो।