नवौं राष्ट्रिय खेलकुदः राष्ट्रिय कीर्तिमानसहित सोम र रमितालाई स्वर्ण

पोखरा - नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुष ४ सय मिटर दौडमा विभागीय त्रिभुवन आर्मीका क्लबका सोमबहादुर कुमालले राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेका छन्।

पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार भएको स्पर्धामा सोमले निर्धारित दुरी ४७.९५ सेकेन्डमा पूरा गर्दै  स्वर्ण जितेका हुन्। उनले यसअघि आफ्नै नाममा रहेको ४८.२० सेकेन्डको ह्यान्ड टाइमको कीर्तिमान सुधार गरेका छन्।

४ सय मिटर पुरुष दौडमा इलेक्ट्रिक टाइमिङको कीर्तिमान आशाराम चौधरीको नाममा छ। उनले सन् १९९० को बेइजिङ एसियन गेम्समा ४८.३२ सेकेण्डको समय निकाल्दै यो कीर्तिमान कायम गरेका थिए।

आशारामको भन्दा राम्रो समय निकाले पनि सोमको कीर्तिमानले अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन। यस स्पर्धामा एपिएफका आशिष चौधरीले ४९.४० सेकेन्डमा पूरा गर्दै रजत तथा आर्मीका प्रकाश दनुवारले ४९.९० सेकेन्डको समय निकाल्दै कास्य जितेका छन्।

महिलातर्फको ४ सय मिटर दौडमा एपिएफकी रमिताकुमारी थारुले ह्यान्ड टाइममा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्ने क्रममा निर्धारित दुरी ५८.१० सेकेन्डमा पूरा गरिन्। रमिताले दिलमाया कार्कीको नाममा रहेको ५८.५० सेकेन्डको ह्यान्ड टाइमको कीर्तिमान तोडेकी हुन्। दिलमायाले २०१० मा ढाकामा उक्त कीर्तिमान बनाएकी थिइन्।

४ सय मिटर महिला दौडमा दिलमाया र प्रमिला रिजालको नाममा ५९.९० सेकेण्डको इलेक्ट्रिक टाइमिङको कीर्तिमान छ। यो स्पर्धामा आर्मीकी निर्मला थापाले १ मिनेट ००.१४ सेकेन्डको समय निकाल्दै रजत तथा एपिएफकी कल्पना श्रेष्ठले १ मिनेट ००.७० सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जितेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×