नवलपरासी । सासंद अवरोधको कुनै औचित्य नरहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाल)ले गर्दै आएको संसद अवरोधकाे कुनै लक्ष्य नभई माधवकुमार नेपालसँगको प्रतिशोधकाे भावनाले अभिप्रेरित मात्र भएको यादवले बताए ।
आज (बिहीवार) पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जनता समाजवादी पार्टी नेपालले गरेको पत्रकार सम्मेलनमा यादवले नेकपा एमालेको संसद अवरोध भनेको माधवकुमार नेपालसँगको व्यक्तिगत प्रतिशोध रहेको भनेका हुन्।
नेपालले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेर ससंदको मान्यता पाएपछि संसदमा छिर्न पाउने अधिकार छ तर एमालेको व्यक्तिगत इर्ष्या र द्वयसले माधवकुमार नेपालहरु संसदमा प्रवेश गर्नु भएन भनेर मात्र उहाँहरुले संसद अवरोध गरेको यादवले बताए । यो गलत भएकाले यसले संसदीय लोकतन्त्रलाई नै नोक्सान पुर्याउने उनकाे भनाइ छ ।
संसदमा थुप्रै विधेयकहरु पास गर्नुपर्ने छ, त्यसमा बहस गर्नु पर्यो । यो संसद अवरोधले न त एमालेलाई फाइदा छ, नत कुनै नागरिकलाई । त्यसैले संसद अवरोधको कुनै औचित्य नरहेको अध्यक्ष यादवले दाबी गरे ।