काठमाडौँ - अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘छड्के २’ को छायांकन सुरु भएको छ। श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर चितवनको भरतपुरमा शुभ मुहूर्त गर्दै छायांकन सुरु गरिएको हो। ६० दिनको छायांकन सेड्युल रहेको फिल्म चितवनसँगै मुस्ताङमा पनि छायांकन हुनेछ।
अनमोल ग्याङ्गस्टार भूमिकामा देखिने फिल्म निगम श्रेष्ठले निर्देशन गर्न लागेका हुन्। निर्देशक श्रेष्ठकै लेखनसमेत रहेको फिल्म अनमोलको अलवा रोविन तामाङ र कमलमणि नेपालको पनि मुख्य भूमिका रहनेछ।
निर्माण टिमले अभिनेत्रीको नाम भने अहिले गोप्य राखेको छ। छायांकन भइरहेको समय कलाकार क्रमशः सार्वजनिक गर्ने निर्देशक श्रेष्ठले बताएका छन्।
काभ्रे फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मसँग मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेको छ। फिल्मको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले रहेका छन्।
‘छड्के’ ६ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म हो। फिल्मले समीक्षात्मक रुपमा प्रशंसा बटुलेको थियो। फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, नम्रता श्रेष्ठलगायतको अभिनय थियो। निगम श्रेष्ठले नै फिल्मको निर्देशन गरेका थिए।