काठमाडौँ - एस्टन भिल्लालाई ४-२ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड इङलिस लिग कपको अन्तिम १६ मा स्थान बनाएको छ। बिहीबार रातिको जितसँगै आइतबार इङलिस प्रिमियर लिगमा एस्टन भिल्लासँग व्यहोरेको ३-१ हारको बदला समेत युनाइटेडले लिएको छ।
४८औं मिनेटमा ओल्ली वाट्किन्सको गोलमा एस्टन भिल्लाले अग्रता लिएको थियो। तर त्यसको १ मिनेटपछि नै एन्थोनी मार्सियलले युनाइटेडलाई खेलमा फर्काएका थिए। ६१ औं मिनेटमा युनाइटेडका डिएगो डालोटको आत्मघाती गोलमा एस्टन भिल्लाले २-१ को अग्रता लिएको थियो।
६७ औं मिनेटमा मार्कुस रासफोर्डले युनाइटेडलाई खेलमा फर्काएका थिए। ७८ औं मिनेटमा ब्रुनो फर्नान्डेजले युनाइटेडको अग्रता ३-२ मा पुर्याएका थिए। इन्जुरी समयको पहिलो मिनेटमा स्कट म्याक्टोमिनेले युनाइटेडका लागि चौथो गोल गरेका थिए। यसअघि नै साविकको विजेता लिभरपुल, म्यानचेस्टर सिटी र लेस्टर सिटीले पनि अन्तिम १६ मा स्थान बनाइसकेका छन्।