पाल्पा । रिब्दीकोटको लिस्नेभीर पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।
रिब्दीकोट गाउँपालिकामा पर्ने लिस्नेभिर चारैतिर भिरालो र डरलाग्दो अग्लो ढुङ्गे पहाडलाई गाउँपालिकाले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागेको हो ।
गाउँपालिकाले लिस्नेभीरसम्म पुग्ने सडक र टाकुरोमा बस्ने स्थान बनाएको छ । पहिले लास बोकेर मात्र हिँड्ने डरलाग्दो लिस्नेभीरमा अहिले घुम्न र सेल्फी खिच्न आन्तरिक पर्यटकहरु आउने गर्दछन् । गाउँपालिकाले लिस्नेभीरलाई सेल्फीडाँडा नामाकरण गरेर विकास गर्दै लगेको छ ।
लिस्नेभीरमा पर्यटकको दुर्घटना जोखिम कम गर्न रेलिङ निर्माण कार्य भइरहेको छ । गाउँपालिकाले लिस्नेभीरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्राथमिकताका साथ काम गरिरहेको जनाएको छ ।
लिस्नेभीर तानसेनदेखि करिब २३ किलोमिटर दुरीमा पर्दछ । चुचुरोबाट प्रसिद्ध धार्मिक तीर्थस्थल रिडी, कालीगण्डकी नदीको बहाव, अर्गली फाँटसहित गुल्मी, पाल्पा र स्याङ्जाका रमणीय स्थलहरु हेर्न सकिन्छ ।