काठमाडौँ - नेपाल र क्यानडाबीच मंगलबार राति तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको छ। क्यानडाको किंग सिटीस्थित मेपल लिफ क्रिकेट मैदानमा लगातार वर्षा भएपछि खेल रद्द भएको हो।
दोस्रो खेल आज (बुधबार) राति ८:४५ बजे सुरु हुनेछ। नेपालले क्यानडासँग स्टकल्यान्डमा आयोजना हुने आसन्न आईसीसी विश्वकप लिग-२ को तयारीका लागि सिरिज खेलेको हो। यसअघि नेपालले क्यानडाको स्थानीय ओन्टारियो क्लबसँग पनि एकदिवसीय र टी-२० २ वटा अभ्यास खेल खेलेको थियो। दुवै खेल नेपालले जितेको थियो।
क्यानडासँगको सिरिज खेलेर नेपाल उतैबाट लिग-२ खेल्न स्कटल्यान्ड जानेछ। स्कटल्यान्डमा नेपालले घरेलु टोली स्कटल्यान्ड र नामिवियाविरुद्ध एकदिवसीय सिरिज खेल्नेछ।
स्कटल्यान्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ। लिग-२ मा नेपालले हालसम्म १६ खेल खेल्दा १५ अङ्कसहित तालिकाको पाँचौं स्थानमा रहेको छ।