निसिमको अर्धकदको शालिक बन्ने, मानार्थ स्वर्ण पदक दिइने

पोखरा - नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाडिङमा प्रतिस्पर्धा गर्ने क्रममा आइतबार खसेर मृत्यु भएका त्रिभुवन आर्मी क्लबका निसिम थापाको अर्धकदको शालिक राख्नुको साथै मानार्थ स्वर्ण पदक प्रदान गरिने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डको बुधबार साँझ पोखरामा बसेको बैठकले पोखरा रंगशालाको हाता भित्र निसिमको अर्धकदको शालिक राख्ने निर्णय गरेको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन्। उनका अनुसार निसिमको सम्मानमा मानार्थ स्वर्ण पदक प्रदान गरिनेछ।

आइतबार उडेको केहि मिनेटमै निसिमको प्याराग्लाइडिङ खसेर मृत्यु भएको थियो। निसमले प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री इभेन्टमा भाग लिएका थिए। पोखरा महानगरपालिका-१८ सराङकोटमा आइतबार खेल चलिरहेको अवस्थामा आकाशमा उडिरहँदा अकस्मात झण्डै १ सय मिटर माथिबाट जमिनमा खसेको प्रहरीले जनाएको थियो।

उपचारका लागि मेट्रोसिटी अस्पताल पुरइएका उनलाई डाक्टरले चेकजाँचपछि मृत घोषित गरेका थिए। विमा वापत निसिमको परिवारले राष्ट्रिय विमा स्थानबाट १० लाख रुपैयाँ प्राप्त गर्ने र थप सहयोगका लागि पनि राखेपले पहल गर्ने सदस्य सचिव घिसिङले जानकारी दिएका छन्।

युवा तथा खेलकुद मन्त्री समेत रहेका राखेपका अध्यक्ष महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको बैठकले दसौं राष्ट्रिय खेलकुद कर्णालीमा २०८१ सालमा आयोजना गर्ने निर्णय भएको छ। महिना र गते पनि नवौं राष्ट्रिय खेलकुदको समापनका दौरान हुने सम्भावना रहेको सदस्य सचिव घिसिङले जानकारी दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×