गीत सङ्गीतसँगै गाईपालनमा रमाउँदै गल्याङ गेजाका चार युवा

वालिङ - ‘वनको चरी वनमै रमाउँछ’ भनेझैं स्याङ्जा गल्याङ ९ गेझाका कुसुम भण्डारी राजधानीबाट गाउँमै फर्केर गाईपालन व्यवसाय गर्न थाले।

गीत सङ्गीतका क्षेत्रमा सङ्घर्ष गरेर निखारता आउँदै गर्दा काठमाडौँको बसाई छोट्याएर गाउँमै गाईपालन गर्ने र त्योसँगै गीत सङ्गीत अगाडि बढाउने गरी २०७० सालमा गेझा गाउँ फर्किए। आफूसहित स्थानीय चार साथीको संलग्नतामा गतवर्षदेखि ‘मुरली एग्रोफार्म प्रालि’ सञ्चालनमा ल्याए। “काठमाडौँमा बसेर गीत सङ्गीतका क्षेत्रमा अगाडि बढ्दै थिएँ, आम्दानी राम्रै हुँदै थियो, सम्भावनाका ढोकाहरु खुल्दै थिए”, उनले भने, “तर मेरो मनले मानेन, गाउँमै फर्किन्छु र केही गर्छु साथमा गीत सङ्गीतलाई पनि सँगै अगाडि बढाउँछु भन्ने दृढ सङ्कल्पकासाथ गाउँ फर्किएको हुँ।”

काठमाडौँको बन्द कोठामा बसेर गीत सङ्गीतको रचना गर्दा पनि परिवेश गाउँकै आउने, गाउँकै वस्तुस्थिति गीत सङ्गीतमा उतार्नुपर्ने र यहाँका साथीसङ्गीसँगको रमाईलो पलले सताएकै कारण गाउँ फर्किएको उनी बताउछन्। “जबसम्म गाउँका युवाले गाउँमै बस्ने खालका काम गरेर सफल हुँदैनन् तबसम्म अरु युवाहरुलाई गाउँमै टिकाउन समस्या हुन्छ”, उनले भने, “हामी चार जना युवाहरुको सफलता देखेपछि अन्य युवाहरुलाई विदेश होइन गाउँमै सम्भावना छन् भनेर उदाहरण देखाउन पनि हामी सफल हुने गरी काम गर्नुछ।”
चार जना युवाहरु गाईफार्ममा सँगसँगै काम गर्ने र बाँकी रहेको समयमा भजन किर्तन, रोईला, सालैजो लगायतका गीत सङ्गीतमा आँफूहरुसँगै गाउँलेहरुलाई मनोरञ्जन दिने गर्दै आएका छन्।

“गाईपालन हाम्रो व्यवसाय हो तर यसबाट प्राप्त भएको केही आम्दानीलाई हामीले धर्म संस्कार, संस्कृति, अति गरिब तथा विपन्न वर्गका मानिसको सहयोगमा प्रयोग गर्छौं”, उनले भने, “गाउँमा हुने शुभकार्यमा मुरली फार्मबाट नै भजन किर्तनमा जाने र सङ्कलित रकम पनि त्यसकै खातामा जम्मा गर्दै आएका छौं।” उनको सबैभन्दा पहिला जनक कार्कीको गोरखपुरको रेलैको ढोकामा नामक एल्बममा ‘नातै तोडेर, कस्तो साथी रोजेकी छौ त नि मलाई छोडेर’ गीत रचना गरेर पहिलो गीत बजारमा आएको थियो।

चर्तित गीतकार, सङ्गीतकार एकनारायण भण्डारी र आँफू एउटै ठाउँको भएको र उहाँकै सङ्गत तथा अभिप्रेरणाबाट गीत सङ्गीतमा लागेको कुसुम बताउछन्। गीत रचना गर्ने, सङ्गीत दिने र एरेञ्जरकोरुपमा स्थापित गर्दै अगाडि बढेका उनले एकनारायण भण्डारीकै सहयोगमा “भेट हुनी हो” गीत बजारमा ल्याए। त्यस्तैगरी राजेन्द्र कँडेलको एल्बम कपाल कोर्ने काईयोमा ‘कपाल कोर्ने काईयो, कित जोवन अर्कैको हो भन नत्र मलाई चाहियो’ गीत २०६६ सालमा निकै चर्चामा रह्यो। त्यस्तै कँडेल र उनको संयुक्त रचनामा ‘काँचो सुपारी’ पनि निकै चर्चा कमाउन सफल भएको थियो। उनी आधुनिक गीत सङ्गीतसहित, भजनकिर्तनहरु, सालैजो, रोईला गीतहरु गाउने, रचना गर्ने र गाउँमा सिकाउने कार्यमा सक्रिय भएर लागेका छन्।
गीत सङ्गीत र गाईपालनलाई सँगसँगै अगाडि बढाउँदा छुट्टै आनन्द मिलेको फार्मका अध्यक्ष ताराप्रसाद भण्डारी बताउछन्।
“सबैले मिलेर काम गर्दा छुट्टै आनन्द पनि छ”, अध्यक्ष भण्डारीले भने, “हामी चारै जना गीत सङ्गीतमा पनि उत्तिकै तल्लिन छौं र फार्मको नाम पनि गीत सङ्गीतमै प्रयोग हुने बाजा ‘मुरली’ बाट नामाकरण गरेका छौं।”

फार्ममा हाल साना ठूला गरी ३१ वटा गाई तथा बाच्छाबाच्छी रहेकामा १३ वटा दुहुना छन्। फार्मबाट हाल दैनिक औसतमा डेढ सय लिटर दूध उत्पादन हुने गरेको छ। उक्त दूध गाउँमै रहेको युवा जागरण सहकारीमार्फत साना किसान कृषि सहकारीलाई बिक्री गर्ने गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए।

हाल दैनिक डेढसय लिटर दूध उत्पादन भईरहेको सञ्चालक प्रेमप्रसाद भण्डारीले बताए। गाईको सङ्ख्या वृद्धि गर्ने, घाँस लगाउने कार्यलाई प्राथमिकता दिएर अगाडि बढेकाले आगामी दिनमा दैनिक ५०० लिटरसम्म दूध उत्पादन गर्ने लक्ष्य रहेको सञ्चालक प्रेमप्रसाद भण्डारीले थपे। हालसम्ममा रु. ६० लाखभन्दा बढी लगानी भईसकेको र आगामी तीन वर्षसम्ममा एक करोड लगानी पुर्याउने र आवश्यकता अनुसार थप्ने सञ्चालक विष्णुप्रसाद भण्डारीले जानकारी दिए। “अनुदानको आशमा गाई पालेका होईनौं, अनुदानले फार्म सञ्चालन हुँदैन”, विष्णुप्रसादले भने, “अनुदान शहरका टाठाबाठा र पहुँचवालालाई मात्रै हो, वास्तविक किसानसम्म त्यो पुग्लाजस्तो लाग्दैन।”

बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा पशुपालनका क्षेत्रमा सस्तो ब्याजमा कर्जा दिने भनेपनि त्यो भनाइ र कागजमा मात्रै सीमित रहेको तर गाउँका किसानले पाउन नसकेको दुःखेसो उनीहरुको थियो। “हामी गाउँमा फार्म सञ्चालन गरिरहेका छौं, शहरमा जग्गा जमिन छैन”, कुसुमले भने, “गाउँको जग्गालाई धितो राखेर सस्तो ब्याजदरमा कर्जा दिन बैंक तथा वित्तीय संस्थाहरु मान्दैनन् उनीहरुलाई बजारकै राम्रो जग्गा चाहिन्छ तर त्यो हामीसँग छैन।”
आफूहरु सफल भएमात्रै गाउँमा युवाहरुलाई टिकाउन सकिने भएकाले जसरी पनि सफल हुनेगरी लागिरहेको उनीहरुको भनाइ छ। आगामी दिनमा ८/१० जना युवालाई गाउँमै रोजगारी दिने योजना उनीहरुको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×