मुसहर बस्तीमा चिसोको प्रहारः न लुगा, न खाना

महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–४ भटौलिया गाउँका हुकुमा सदा आफ्ना लालाबाला र घरपरिवारसहित चिसो स्याँठका बीच छिन् । उनी तथा बालबालिका र महिलाहरूको शरीरमा चिसो छल्न सक्ने लुगाफाटा छैनन् । उनको घरमाथि टुटेका झिक्राझिक्री मात्र छन्, घेराबेरासमेत केही छैन । साठी वर्ष नाघिसकेका हुकुमा आफ्नो परिवारसहित चिसो आकाशमुनि छन् ।

चरम गरिबीले छोएको त्यस परिवारमा ससाना बालबालिका गरी १३ जना थिए । तीमध्ये कुनै बालबालिकाको शरीर लुगाफाटाले पूर्ण रुपमा छोपिएको छैन । त्यसैगरी महिलाहरू अनिवार्य रुपमा इज्जत ढाक्नैका लागि लगाउनुपर्ने लुगाबाहेक थप लत्ताकपडामा भेटिएनन् । पुरुषहरू पनि आधा –अधुरा च्यातिएको लुगाफाटाले सकीनसकी आफूलाई चिसोबाट जोगाउने प्रयत्न गरिरहेका छन् । सञ्चारकर्मीलाई देखेर बालबालिका दगुर्दै “केही बाँड्ने मान्छे आयो” भन्दै आए । हुकुमाले परैबाट ‘हजुर जे लाइलछी से ओकरेसबके ददिऔ’ (हजुरले जे ल्याउनुभएछ, त्यो उनीहरुलाई नै दिदिनुहोस्) भन्दै कराइन् ।

उनकै छिमेकी सीतादेवी सदा आफ्ना पाँच छोराछोरीसहित परालको ठुटाले चारैतिरबाट घेरिएको र माथि च्यातिएको प्लाष्टिकबाट ठाउँठाउँमा घरभरि उज्यालो आउँदै गरेको सानो झुप्रामा चिसोसँगै लड्दै छिन् । उनले घरभरि आफू र आफ्ना सन्तानको जीउ न्यानो पार्न र राति सुत्नका लागि पराल ओछ्याएकी छिन् भने ओढ्नका लागि जुटका ठूलाठूला बोरामा पराल कोचेर राखेकी छिन् । उनका कुनै छोराछोरीका जीउमा पनि पूरा लत्ताकपडा छैन । घरभित्रैबाट चिसाले काँप्दै सीताले रुँदै भनिन्, ‘हजुर हमरा सबल केऊ नै अबैछै, मैर रहलछी लेकिन केकरो कोनो फिकिर नै है ।’ (हजुर हामीकहाँ कोही आउँदैनन् । जाडाले मरिरहेछौँ तर पनि कसैलाई कुनै मतलब छैन) उनले आफू तीन वर्षदेखि चिसो, वर्षा र घामको सामना गर्दै सोही झुप्रामा दिन बिताउन बाध्य रहेको बताइन् । “ठूलो परिवार भएकाले खानपानकै जोहो त गर्न सकिँदैन भने लुगाफाटा र ओढ्ने ओछ्याउने कहाँबाट ल्याउनू ?”, उनले थप पीडा पोखिन् ।

उनी र उनका सन्तान पनि सञ्चारकर्मीलाई देखेर असहनीय चिसाको बेला आफ्नो बस्तीमा कुनै कुरा बाँड्न आएका व्यक्ति सम्झेर माग्न थाल्छन् । त्यहीँ नजिकै चार वर्षदेखि दमरोगकी शिकार अनरियादेवी सदा झोत्रो कम्बल ओढेर काँप्दै थिइन् । उनले आफूलाई पति र छोराछोरीले समेत राम्ररी हेरचाह नगरेको भनी सहारा मागिन् । उनले भनिन्, “हजुर मलाई पनि आफूसँगै लग्नुस्, नत्र यहाँ केही दिनमै मर्छु । मलाई बिरामीले धेरै च्यापिसकेको भए पनि मेरो उपचार न त पतिले गराउँछन् न छोराछोरीले नै मलाई माया गर्छन्”, उनले आफूलाई चिसो मौसमको दुश्मन दम रोगबाट मुक्ति दिलाइदिन पनि आग्रह गर्दै भनिन् । उनले तातो र पोषिलो खानाको अभावसँगै आफू दुई/दुई दिनसम्म भोकभोकै पनि रहने गरेको दुखेसो गरिन् ।

उनी जस्तै सोही ठाउँ बस्ने ४५ वर्षीया कोशिला सदा दुई सातादेखि राति सुत्न पाएकी छैनन् । उनले भनिन्, “ दिनभरि जसोतसो काटे पनि राति आगोकै सहाराले नै बाँच्दै आएको छु ।” दुई सातादेखिको चिसो स्याँठबाट बालबालिका र आफूलाई बचाउन रातभरि पातपतिङ्गरको घुर जलाएर सुत्नेगरेको बताउँदै उहाँले आगो बालेर सुत्दा जल्ने, पोल्ने डरले बालबालिकालाई सुताए पनि आफू खासै नसुत्ने गरेको सुनाइन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×