काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि ३० हजार भन्दा बढी उम्मेदवार उठाएको छ । प्रवक्ता प्रकाश शरण महत आइतबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार कांग्रेसले विभिन्न पदमा गरी ३० हजार छ सय २८ जना उम्मेदवार उठाएका छन् ।
उनले दुई सय ६५ जना उम्मेदवार मेयर पदका लागि उठेको बताए ।
यस्तै तीन सय ७२ ठाउँमा गाउँपालिका अध्यक्षका लागि पार्टीबाट उम्मेदवार रहेको महतले जानकारी दिएका छन् । एक सय ९४ जना उम्मेदवार उपमेयरमा उठेको र तीन सय ४० जना उपाध्यक्ष उठेको महतले जानकारी दिए ।
छ हजार ४३ जना भने वडाध्यक्षका लागि उम्मेदवार छन् । वडा सदस्यमा पाँच हजार नौ सय ३८ जना उम्मेदवार रहेको महतले बताए ।
दलित महिला सदस्यमा पाँच हजार छ सय ९१ जना उम्मेदवार छन् । दुई सदस्यका लागि ११ हजार सात सय ८८ जना उम्मेदवार रहेको उनले बताए ।
‘गठबन्धन र कतिपय ठाउँमा मित्रवत प्रतिपर्धा गर्दा ३० हजार छ सय २८ जना उम्मेदवार छन्,’ उनले भने ।
उनले सहमतिअनुसार कतिपय ठाउँमा उम्मेदवारी फिर्ता लिन बाँकी रहेकोले वक्तव्यमार्फत् उम्मेदवारी फिर्ताको घोषणा गरिने पनि बताए ।
महतले पाँचदलीय गठबन्धनबाट तालमेल हुन्न भन्ने धेरैलाई लागे पनि गठबन्धन सफल हुने दिशातर्फ गइरहेको दाबी गरेका थिए ।