काठमाडौँ - भन्सार नाकामा जाँचपास भएको मालवस्तु छड्के चेकजाँच हँदा प्रज्ञापन पत्रमा उल्लेख भएअनुसारको सामान नभेटिएपछि भन्सार विभागले रसुवा भन्सार कार्यालयलाई पुनः भन्सार जाँचपास गर्न निर्देशन दिएको छ। विभागबाट खटिएको टोली गत बुधबार छड्के जाँच गर्दा उल्लेख भएको भन्दा अर्कै सामान फेला परेको थियो।
छड्के चेकजाँचका क्रममा मालवस्तुको प्रकृति, साइज, गुणस्तर, उत्पादन गरिएको मुलुकको नामलगायत फरक परेपछि भन्सार ऐन र आर्थिक ऐनअनुसार कारबाही गर्न कार्यालयलाई निर्देशन दिएको हो।
भन्सार कार्यालय रसुवाबाट जारी भएको प्रज्ञापन पत्रनम्बर १८८८९ र १८९१ रहेका बा २ ख १७९३ र ना ६ ख ५३७२ कन्टेनर छानबिन प्रक्रिया अगाडि बढेपछि रसुवागढी हाइड्रोपावर निर्माणका निम्ति तयार गरिएको वैकल्पिक मार्गको प्रयोग गरी पुनः यार्डमा गई ना ६ ख ८५९० नम्बर खाली कन्टेनरमा पल्टी गरिए छानबिनका क्रममा फेला परेको थियो।
विभागको छड्के जाँच टोलीले रसुवा भन्सार कार्यालयको गेटमा रहेको सवारी साधन इन्ट्री किताब र टिमुरे प्रहरी चौकीको सवारी इन्ट्री खाता मेल नखाएको, भन्सार यार्डको सीसीटिभी फुटेज, प्रज्ञापनपत्रलगायतका निरीक्षण तथा भौतिक रूपमा फेला परेपछि मालवस्तुको निरीक्षणपश्चात कारबाही गर्न निर्देशन दिएको छ।
नेपाल समाचारपत्र दैनिकबाट