काठमाडौँ - प्रतिनिधिसभा बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे सङ्घीय संसद् भवनमा बस्नेछ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९' माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले नै 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९' माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
बैठकमा नेपाली कांग्रेसबाट संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित गणेशप्रसाद विमलीको यही चैत ७ गते भएको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए।