काठमाडौँ - हलिउडका लोकप्रिय अभिनेता ब्राड पिटले फिल्मी अभिनयबाट अवकाश लिने योजना बनाएको बताएका छन्। तर उनले आफूले कहिलेसम्म अवकास लिने भन्ने केही खुलाएका छैनन्।
‘मेरा लागि फिल्म उद्योगमा अन्तिम समय चलिरहेको छ। थाहा छैन त्यसपछि कस्तो अनुभव हुनेछ। म त्यो समयलाई कसरी सदुपयोग गर्नेछु। म ती व्यक्तिमध्ये एक हुँ, जो आफ्नो कलाका लागि चिनिन्छन्। म जहिल्यै अभिनयमा रहन चाहन्छु। यदि मैले यसो गरिनँ भने म मर्नेछु’, उनले भनेका छन्।
ब्राडले हालैमात्र ‘वान्स अपन ए टाइम इन हलिउड’मा सपोर्टिङ भूमिकाका लागि ओस्कार अवार्ड जितेका थिए।
ब्राड हालका दिनमा पूर्व पत्नी अभिनेत्री एञ्जेलिना जोलीसँग कानूनी विवादमा छन्। ब्राडले जोलीकाविरुद्ध वाइन व्यापारमा उनको शेयर बेचेको आरोपमा मुद्दा दर्ता गराएका छन्।