काठमाडौँ - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफ क्लबले लगातार दोस्रो जित निकालेको छ। मंगलबार भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले पराजित गरेको हो।
मूलपानी क्रिकेट मैदानमा ६८ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपीएफले ११.२ ओभरमा बिना विकेट लक्ष्य भेट्टायो। एपीएफका लागि ओपनर प्रदीप ऐरीले २५ रन बनाउँदा आशिफ शेखले ४२ रन बनाए।
५० ओभरबाट ४३ ओभरमा छोट्याइएको खेलमा सुदूरपश्चिमले एपीएफविरुद्ध राम्रो खेल्न सकेन। टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७ ओभरमा सबै विकेटको क्षतिमा ६७ रन मात्रै बनाउन सक्यो। सुदूरपश्चिमका कप्तान राजु रिजालले २४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक पनि बनाउन सकेनन्।
सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफका भुवन कार्कीले चार, कमलसिंह ऐरी र मौसम ढकालले समान २/२ विकेट लिए। समूह ‘ए’ मा रहेको एपीएफको यो दोस्रो जित हो। यसअघि एपीएफले आफ्नो पहिलो खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ५६ रनले पराजित गरेको थियो।