काठमाडौं - अघिल्लो हप्ता ललितपुरको एकान्तकुनामा नाटक रिहर्सन गर्दै गरेका विमल सुवेदी ‘पल्पसा क्याफे’ नाटकको ‘दृश्य’ चरित्रमा अनुबन्द भएको प्रसंग सुनाउँदै थिए। भन्दै थिए, आफैँ अभिनय गर्छु भनेर मैले यो नाटक सुरु गरेको थिइनँ। १४ वर्ष भइसकेछ अभिनय नगरेको पनि। कास्टिङ डिरेक्टरले तपाईंले नै अभिनय गर्नुपर्छ भनेपछि नाइँ भन्न सकिनँ। यो नै अन्तिम हो कि यसलाई निरन्तरता दिन्छु त्यो पनि थाहा छैन।
हरेक नाटक अगाडि विमललाई ‘स्ट्रेस’ हुन्छ। छटपटी हुन्छ। के होला र कसो होला भन्ने पिर हुन्छ। उनले भने, “हरेक नाटक अगाडि म पाँचदेखि सात केजी घट्छु नि!”
सायद तनावले जिम्मेवारी बोेध गराइदिन्छ। जिम्मेवारी बोध हुँदा मिहिनेतको ग्राफ उकालो लाग्छ। त्यसले रंगमञ्चमा पात्रहरू जीवन्त देखिन्छन्, दर्शकको दिलचस्पी हुन्छ। तिनै दृश्य हुन्, केही दिनयता मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘पल्पसा क्याफे’का नायक।
नाटकभरि दृश्यलाई हेरेर दर्शकका आँखा अघाउँदैनन्। उनी नभएका ‘सिन’मा समेत उनको लोभलाग्दो अभिनय दर्शक खोजिरहन्छन्। उनको अभिनय यति अब्बल छ, नाटककी मुख्य पात्र पल्पसा (सृष्टि श्रेष्ठ)समेत छायामा परेकी छन्। डाँडाको घाम भइसकेकी हजुरआमासँग गफ गरून् अथवा बाटामा भेटिएकी सानी फुच्ची (मितिनी)सँग, दृश्य संवाद र अभिनयमा कतै बिझाउँदैनन्। बरु, ओझेल नपरून् भन्ने चाह दर्शकमा जगाइरहन्छन्। लामा–लामा संवाद बोलून् अथवा गीत गाऊन्, दृश्यको गज्जब अभिनय छ।
अभिनयको निखारता दृश्यमा मात्रै होइन, हजुरआमा (संगीता थापा)मा पनि देखिन्छ। छोटा केही सिनमै उनी दर्शकको मनमा बस्छिन्।
प्रोडक्सनमा निकैपछि पल्पसाको भूमिकामा भित्रिएकी सृष्टिले चरित्रलाई न्याय गरेकी छन्। डाइलग डेलिभरी र बडी मुभमेन्टमा उनको सिनेमा हेरेका दर्शकले खासै भिन्नता नदेख्न सक्छन्। तर, निर्देशकले उनीबाट पर्याप्त काम लिएका छन्। निर्देशकले साना–साना कुरामा ध्यान दिँदा सृष्टिको चरित्र पनि दर्शकले रुचाउँछन्। यो नाटकका निर्देशक उनै विमल सुवेदी अर्थात् नाटकमा देखिने दृश्य नै हुन्।
सिद्धार्थको चरित्रमा देखिएका दीपेश राई तत्कालीन सरकार–माओवादी युद्धको कमान्डरको झल्को दिन्छन्। गाउँमा सपना बाँडेर हिँड्ने माओवादीका स्थानीय कमान्डरको भूमिकालाई उनले न्याय गरेका छन्।
‘संकटकाल छ, आफ्नो ज्यान आफैँ जोगाउनुस् है’ भन्दै सुरु हुने नाटकले सरकार–माओवादी १० वर्षे युद्धको कथा भन्छ। नाटकले नारायण वाग्लेकृत उपन्यास ‘पल्पसा क्याफे’लाई समराइज मात्रै गर्दैन, त्यसका बाछिटा समेत देखाउँछ। हराएका परिवारका सदस्यलाई कुरी बस्ने हजुरआमामार्फत लास र सास दुवै नदिने राज्यलाई व्यंग्य गर्छ। भव्य अमेरिकामा छिनछिनमा गोरा छालाहरूले गर्ने अपमानको भारी बोक्न फेरि फर्किएर जान्नँ भन्ने पल्पसामार्फत नाटकले सपनाको देशमा गुमाउनुपर्ने पचिहान देखाइदिएको छ।
गीतले नाटकमा जीवन भरेका छन्। नृत्यले स्वाद थपेका छन्। ध्वनीले नाटकलाई प्रष्ट्याइदिएको छ।
नाटकमा केही कमजोर पक्ष पनि छन्। युद्ध–राजनीतिमा आधारित नाटकमा युद्धका दृश्यले दर्शकको मथिंगल हल्लाउनुपर्छ। आङ जिरिङ–जिरिङ बनाउन सक्नुपर्छ। नाटकमा यसको अभाव देखिन्छ। त्यसो त उनले पुस्तकको समरी यो नाटक होइन भनेर नाटक निर्माणको घोषणामै भनेकाले उनलाई छुट दिने वा नदिने त्यो दर्शककै विवेकमा छ। यति भन्दाभन्दै नाटकको विषयलाई भने नजरअन्दाज गर्न सकिन्न।