काठमाडौं - कोरोना महामारीपछि नेपाली फिल्म उद्योग लयमा फर्किएको छ। कोरोनाका तीनवटा लहर तथा कोरोना नहुँदा ठूला विदेशी फिल्मको प्रदर्शनले गर्दा नेपाली फिल्म उद्योगले आफ्नो लय समात्न सकेको थिएन।
नयाँ वर्षको अवसरमा आएका दुईवटा फिल्म 'ए मेरो हजुर ४' र कन्नड फिल्म 'केजिएफ २' मा दर्शकको उपस्थिति अझै पनि उल्लेख्य छ। दुई हप्ता दुईवटा फिल्मको राज रहेको फिल्म हलमा शुक्रबारदेखि नयाँ नेपाली फिल्म 'मन्त्र' प्रदर्शन हुँदैछ।
सौगात मल्ल र दिया पुनको मुख्य भूमिका रहेको फिल्म हिमाली क्षेत्रको प्रेम कथामा आधारित रहेको छ। खिलबहादुर गुरुङको निर्देशनमा बनेको फिल्मको सम्पूर्ण छायांकन हिमाली क्षेत्रमा नै गरिएको छ। फिल्मको कथा परिच्छेद सेनले तयार पारेका हुन् भने लेखन परिच्छेद सहित साम्तेन भुटिया र सुनिल निउरेले संयुक्त रूपमा गरेका हुन्।
प्रतिभाशाली अभिनेताका रूपमा चिनिने सौगातका लागि यो फिल्म महत्त्वपूर्ण हुनेछ। उनको अभिनयको सबैले तारिफ गरे पनि उनी अभिनित फिल्मले राम्रो व्यापार गर्न सकिरहेका छैन। गत फागुनमा उनी अभिनित फिल्म 'लप्पन छप्पन २' प्रदर्शनमा आएको थियो। जुन व्यावसायिक रूपमा असफल रह्यो।
त्यस्तै वीर विक्रम, मिस्टर झोले जस्ता सफल फिल्ममा अभिनय गरेकी दिया अर्को सफल फिल्म जोड्ने प्रयासमा छिन्। सौगात र दिया पहिलोपटक एकसाथ पर्दामा देखिन लागेका हुन्।
केही महिनाअघि दर्शक नआउने डरले निर्माताहरूले आफ्नो फिल्म पछि सारिरहेका थिए। अब भने हरेक हप्ता मात्रै होइन एकै दिन दुईवटा फिल्म पनि प्रदर्शन हुन थालेका छन्। जसको शुरुवात अर्को हप्ता अर्थात् वैशाख २३ देखि हुँदै छ। दुई वा दुईभन्दा बढी नेपाली फिल्म एउटा मितिमा प्रदर्शनमा आउनु नौलो कुरा होइन तर कोरोना महामारीपछि यो पहिलो पटक हुँदै छ।
शिवहरि पौडेलको लेखन तथा निर्देशनमा बनेको 'लक्का जवान' र मिलन डि काप्रीको निर्देशनमा बनेको 'षट्कोण' एकसाथ प्रदर्शनमा आउन लागेका हुन्। 'लक्का जवान' कमेडी ड्रामा जनरामा बनेको छ भने 'षट्कोण' क्राइम थ्रिलर फिल्म हो। तर, हलमा प्रतिस्पर्धा 'लक्का जवान' र 'षट्कोण'को मात्रै छैन। त्यसै दिन बहुप्रतीक्षित हलिउड फिल्म 'डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस' पनि प्रदर्शनमा आउँदै छ।
त्यस्तै आगामी शुक्रबारदेखि बलिउड फिल्म 'हिरोपन्थी २' प्रदर्शनमा आउँदै छ। जोसँग 'मन्त्र'ले स्क्रिन बाँड्नुपर्ने हुन्छ।