काठमाडौँ - बाह्र वर्षको इतिहास बोकेको महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले दोस्रो पटक सेमिफाइनलमा भारतको सामना गर्नुपर्ने भएको छ।
दशरथ रंगशालामा जारी च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा मंगलबार सबै संस्करणको च्याम्पियन भारतले बंगलादेशसँग ३-० को अप्रत्यासित हार व्यहोरेपछि अन्तिम ४ मा नेपालसँगको भेट पक्का भएको हो।
समूहका सबै खेलमा जित निकालेको बंगलादेश समूह एको विजेता बन्दै अघि बढ्दा भारत भने उपविजेतामा सिमित भयो। एको उपविजेता भारतले समूह बीको नेपालको सामना गर्ने छ भने अर्को सेमिफाइनल बंगलादेश र भुटानबीच हुनेछ।
भुटानलाई ४-० र श्रीलंकालाई ५-० ले हराउँदै नेपाल समूह बीको विजेता बनेका थियो। बंगलादेशसँग नमिठो हार व्यर्होनुअघि भारतले पाकिस्तानलाई ३-० र माल्दिभ्सलाई ९-० ले हराएको थियो।
यसअघि सन् २०१६ मा भारतमा भएको चौथो संस्करणमा पनि नेपाल र भारतबीच सेमिफाइनलमा भेट भएको थियो। जसमा नेपाल ३-१ ले पराजित भएको थियो। त्यसबाहेकका सबै फाइनलमा नेपाल र भारत नै भिड्दै आएका छन्। जसमा नेपाल सधै पराजित भएको छ।
सेमिफाइनलमा नेपाल र भारतको दोस्रो भेटमा केहि संयोग पनि मिलेको छ। नेपाल र भारतको अन्तिम ४ को भेटमा दुवै पटकको कारण बंगलादेश नै बनेको छ। त्यति बेला समूह चरणमा बंगलादेशले भारतलाई गोलरहित बराबरीमा रोकेपछि नेपालसँग सेमिफाइनलमा भिड्नु परेको थियो। त्यहि संस्करणमा अर्को सेमिफाइनल जित्दै बंगलादेश पहिलो पटक फाइनल पुगेको थियो।
यस पटक सबैभन्दा उच्च प्रदर्शन गरेको बंगलादेशले भारतलाई इतिहासमा पहिलो पटक निराश पारेको हो। भारतले छैटौं संस्करणमा आएर पहिलो हार व्यहोरेको हो। अर्को संयोजक नेपाली टोलीका प्रशिक्षक हुन्। भारतसँग सेमिफाइनल खेल्नु परेको संस्करणमा कुमार थापा मुख्य प्रशिक्षक थिए। यसपटक घरेलु मैदानमा जारी च्याम्पियनसिपमा पनि उनी थापा टोलीको मुख्य प्रशिक्षक रहेका छन्।
साफको फाइनलमा पहिलो संस्करणमा १-०, दोस्रोमा ३-१, तेस्रोमा ६-० ले भारतसँग पराजित भएको नेपालले २०१६ को सेमिफाइनल नतिजा ३-१ ले सुम्पेको थियो। पाँचौं संस्करणको फाइनलमा भारतसँग नेपाल ३-० ले पराजित भएको थियो।
भारतसँग लगातारको हारलाई रोक्ने मौका फेरि एक पटक नेपाली टोलीसँग छ। भारतसँगको भेटमा जित निकाल्दै नेपाल पाँचौ पटक फाइनल खेल्छ कि दोस्रो पटक सेमिफाइनलबाट बाहिरिने त्यसका लागि शुक्रबार सम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ।
साफ च्याम्पियनसिपमा नेपाल र भारतबीचको नतिजा
वर्ष र नेपाल भारतको खेल
२०१०, ०-१ फाइनल
२०१२, १-३ फाइनल
२०१४, ०-६ फाइनल
२०१६, १-३ सेमिफाइनल
२०१९, ०-३ फाइनल