काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले ‘अखिल एप्स तथा सदस्यता’ वितरण अभियान सुभारम्भ गरेको छ। पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक कार्यक्रमका बीच अभियानको उद्घाटन गरेका हुन् ।
अनेरास्ववियूका कार्यवाहक अध्यक्ष ओसिम आलमको अध्यक्षतामा राजधानीको थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा विद्यार्थी तथा नेता/कार्यकर्ताका बीच अखिल एप्स सार्वजनिक गरिएको हो ।
एप्स सार्वजनिक गर्दै अध्यक्ष नेपालले अनेरास्ववियू प्रविधि मैत्री बन्न लागेको भन्दै खुशी व्यक्त गरे। नेपालले अखिल एप्समार्फत संगठन सुदृढीकरणका सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे। कार्यक्रमका विशेष अतिथि पार्टी पोलिटब्यूरो सदस्य तथा विद्यार्थी फाँट इन्चार्ज रामकुमार भट्टराईले अनेरास्ववियू गर्ने हरेक कार्यक्रम "डिजिटलाइज्ड" गरिनुपर्ने उल्लेख गरे ।
जिम्मेवारी लिएको नेताले आफ्नो कार्यक्षेत्रमा काम गरे/नगरेको अखिल एप्समार्फत थाह पाउन सकिने हुनाले अनेरास्ववियू अब गति लिने भट्टराई ले विश्वास व्यक्त गरे ।
"अखिल एप्स तथा सदस्यता अभियान " का सन्दर्भमा प्रकाश पार्दै महासचिव आरती लामाले अनेरास्ववियूका क्रियाशील सदस्यलाई सदस्यता प्राप्त गर्न सहज बनाउन, सदस्यहरुबारे सूचना लिन, संगठनका गतिविधि थाहा पाउन, बिधान, संविधान, पार्टीको मुखपत्र ‘कलम’ मा प्रकाशित सामग्रीबारे बुझ्न र राष्ट्रिय गीत तथा अखिल गीत सुन्न समेत पाइने भएकोले यो एक ऐतिहासिक काम सुरु गरिएको बताए ।