काठमाडौँ - फिफा विश्वकप कतार २०२२ अघिको अन्तिम अभ्यास खेलमा क्रोएसियाले जित निकालेको छ। क्रोएसियाले एसियन प्रतिद्धन्द्धी साउदी अरेबियालाइ १-० ले पराजित गरेकाे हाे।
यस जितसँगै क्राेएसियाले विश्वकपको लागि तयार रहेको संकेत दिएको छ। क्रोएसियाको जितमा दोस्रो हाफमा परिर्तित खेलाडी एन्डरेज क्रामारिचले गरेको गोल नै निर्णायक बन्यो। प्रिन्स फैजल विन फाद स्टेडियममा बुधबार राति भएको खेलमा क्रामारिचले ८२औं मिनेटमा गोल गरेका थिए।
क्रामारिच ५८औं मिनेटमा ब्रुनो पेट्कोभिचको स्थानमा मैदान छिरेका थिए। घरेलु टोलीविरुद्ध बल पोसेसन राखेपनि क्रोएसियाले थप गोल भने गर्न सकेन। यससँगै क्रोएसिया पछिल्लो ६ खेलसम्म अपराजित रहन सफल भएको छ।
नेसन्स लिगमा अष्ट्रियासँग ३-० ले पराजित भएयता क्रोएसियाले फ्रान्ससँग १-१ गोलको बराबरी र त्यसपछि सबै ५ खेलमा जित निकाल्न सफल भएको छ।
समूह ‘एफ’ मा रहेको क्रोएसियाले २३ नोभेम्वरमा मोरोक्को, २७ नोभेम्वरमा क्यानडा र १ डिसेम्वरमा बेल्जियमसँग खेल्नेछ। यता, समूह ‘सी’ मा रहेकाे साउदी अरेबियाले २२ नोभेम्वरमा अर्जेन्टिना, २६ नोभेम्वरमा पोल्यान्ड र ३० नोभेम्वरमा मेक्सिकाेसँग खेल्नेछ।