बागलुङ - काठेखोला गाउँपालिका–४ तङ्ग्राम, काफलबोटमा सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण सुरु गरिएको छ। एक हजार १८२ स्क्वायर फिटमा बन्ने तीनतले भवनको बुधबार राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङका अध्यक्ष धर्मबहादुर कुँवरले शिलान्यास गरे।
गाउँमैत्री अक्षयकोषले निर्माण गर्न लागेको सङ्ग्रहालय भवनमा रु दुई करोड बढीको लागत अनुमान छ। चालु आवमा गण्डकी प्रदेश सरकारले दिएको रु ५० लाख बजेटबाट तला ढलानसम्म गरिने भएको छ। 'भवनको भित्री संरचना र साजसज्जाको काम आउँदो वर्ष गर्ने लक्ष्य छ', अक्षयकोषका अध्यक्ष हेमराज आश्रमले भने।
उनका अनुसार सबै पूर्वाधार खडा गरेपछि दुई वर्षभित्रमा सङ्ग्रहालयलाई पूर्णस्वरुपमा सञ्चालनमा ल्याइनेछ। अक्षयकोषले गत साउनदेखि नै सङ्ग्रहालय निर्माणका लागि पूर्वाधार तयारी र लोकवाद्य यन्त्र सङ्कलनको काम थालेको थियो। अक्षयकोषका नाममा यसअघि रहेको जग्गामा थप साढे दुई रोपनी जग्गा जोडेपछि भवन निर्माण अघि बढेको हो।
सङ्ग्रहालयमा विश्वभरका देशको प्रतिनिधित्व हुने गरी लोकबाजा सङ्ग्रह गर्ने महत्वकांक्षी लक्ष्य अक्षयकोषले लिएको छ। हालसम्म नेपाली र पश्चिमेली गरी २५ किसिमका लोकबाजा सङ्कलन गरिएको छ। अक्षयकोषले सांस्कृतिक सङ्ग्रहालयको योजना ल्याएपछि गत आवमा पनि प्रदेश सरकारले रु दश लाख बजेट उपलब्ध गराएको थियो। उक्त बजेटमध्ये रु पाँच लाख नगरा (दमाहा) र बाँकी अक्षयकोषको कार्यालय भवन बनाउँदा खर्च भएको थियो।
दुई सय ८० किलोको उक्त नगरालाई अक्षयकोषले ‘देशकै ठूलो’ भनेर दाबी गर्दै आएको छ। अबदेखि सालैपिच्छे नयाँ वर्षका दिन त्यो नगरा बजाइने भएको छ। निर्माणाधीन सङ्ग्रहालय परिसरमा नेपाली लोकबाजा मादलको प्रतिमा पनि राखिएको छ। भवनले पूर्णता पाएपछि सङ्कलित लोकबाजालाई व्यवस्थितरुपमा सङ्ग्रह गरिनेछ।
सङ्ग्रहालयले नेपाली कला, संस्कृतिको संरक्षण तथा सम्वद्र्धनमा टेवा थप्ने वाङ्मयसेवी एवं काठेखोलाका कार्यपालिका सदस्य टीका सङ्गम विकले बताए। सङ्ग्रहालय निर्माणका लागि अहिले आर्थिक अभियान पनि सञ्चालन भइरहेको छ।
देश विदेशबाट स्वतःस्फूर्तरुपमा सहयोग आउने क्रम सुरु भएको अक्षयकोषले जनाएको छ यसअघि आर्थिक स्रोतको जोहो नहुँदा सङ्ग्रहालय बनाउने योजना अन्योलमा परेको थियो। प्रदेश सरकारबाट बजेटको सुनिश्चितता भएपछि काम अघि बढेको हो। विसं २०६६ मा स्थापित अक्षयकोष कला, सङ्गीत र साहित्यको उत्थानमा क्रियाशील छ।