काठमाडौँ- पहिलो टी-२० खेलमा जिम्बावे ‘ए’ ले नेपाललाई कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा ६ विकेटले पराजित गरेको छ। नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
जिम्बावेका लागि कप्तान टोनी मुनयोङ्गा र ताडिवानाशे मारूमानीले अर्धशतक प्रहार गरे। मुरूमानीले ५६ रन र कप्तान टोनीले ५० रन जोडे। त्यसअघि ओपर इनोसेन्ट काइयाले ३० बलमा ४७ रन जोडे।बलिङमा नेपालका डेब्यू खेलाडी बसिर अहमेदले २ विकेट लिए। करण केसी र सन्दीप लामिछानेले १-१ विकेट हात पारे।
खराब बलिङ गरेका कप्तान सन्दीपले ४ ओभरमा ५० रन दिए। करणले ३ ओभरमा ३५ रन खर्चिए। त्यसअघि जिम्बावेले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा १८१ रन जोड्यो ।नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान आदिल अन्सारीले उत्कृष्ट ब्याटिङ गरे। उनले २७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा नटआउट ४७ रन जोडे।
त्यसअघि ओपनर कुशल भुर्तेलले ४६ रन जोडे। उनले ३१ बलमा ८ चौका हिर्काए। आसिफ शेख ९ रनमा आउट भए। रोहित कुमार पौडेलले २६ बलमा ३६ रन र दीपेन्द्रसिंह ऐरीले रनआउट हुनुअघि १३ रनमा २८ रनको योगदान दिए।
आरिफ शेख भने २ रनमै आउट भए। करण केसी ४ रनमा नटआउट रहे। बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोङगे, ब्रान्डन माभुता र जोन मसाराले १-१ विकेट लिए।
दोस्रो टी-२० भोलि र तेस्रो टी-२० वैशाख २१ मा हुनेछ।एकदिवसीय खेलहरू वैशाख २३, २४ र २६ गते हुनेछन्।