भारतद्वारा गहुँपछि चिनी निर्यातमा पनि रोक

काठमाडौँ - भारतले चिनी निर्यातमा रोक लगाएको छ। छिमेकी मुलुक भारतले गहुँपछि चिनी निर्यातमा रोक लगाएको हो। भारत सरकारले जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उखुको अफसिजन भएकाले भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रणका लागि भन्दै  केही महिना निर्यातमा राेक लगाएको हो। 

भारत ब्राजिलपछि विश्वमा धेरै चिनी निर्यात गर्ने मुलुक हो। भारतबाट बंगलादेश, इन्डोनेसिया, मलेसियामा सबैभन्दा धेरै चिनी निर्यात हुने गरेको छ। साथै भारतको यो निर्णयले नेपालमा समेत असर पर्नेछ। नेपालमा स्वदेशी उत्पादनले मात्रै चिनीको माग धान्न सक्दैन। यसले कालोबजारी बढ्न सक्ने जोखिम हुन्छ।

विदेशमा चिनी निर्यातमा रोक लगाएपछि देशभित्रको भाउ नियन्त्रण हुने सरकारको अपेक्षा छ। विदेश व्यापार निर्देशनालयले विज्ञप्ति निकालेर देशभित्रको समस्यालाई मध्यनजर गरेर निर्यातमा रोक लगाइएको जनाएको छ। तर चिनी तथा खाद्य वितरण महानिर्देशनालयको विशेष अनुमति लिएर भने चिनीको निर्यात अनुमति दिन सकिने समाचारमा उल्लेख छ। 

अमेरिका र बेलायतमा भने चिनी निर्यातमा बन्देज लगाइएको छैन। नेपालमा वार्षिक साढे तीन लाख मेट्रिक टन चिनीको माग हुँदै आएकोमा अधिकतम एक लाख ५० हजार मेट्रिक टन मात्रै उत्पादन हुँदै आएको छ। भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपालमा पनि समस्या हुने देखिएको छ। पछिल्ला केही वर्षयता नेपालमा औसतमा वार्षिक आठ अर्ब रुपैयाँको चिनी आयात हुँदै आएको छ।

पछिल्लो समय विभिन्न देशहरुले खाद्यान्न निर्यातमा रोक लगाउँदै गएका छन्। युक्रेनमाथि रुसको आक्रमणले गर्दा खाद्य संकट बढ्न सक्ने अनुमान समेत हुन थालेको छ। मलेसियाले जुन १ देखि कुखुराको मासु निर्यातमा रोक लगाएको छ। इन्डोनेसियाले हाल पाम तेलमा रोक लगाएकमो छ भने सर्विया र कजाकिस्तानले पनि खाद्यान्न निर्यातमा कोटा लगाएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×