काठमाडौँ - भारतविरुद्धको टी-२० सिरिजको तेस्रो खेलमा पाहुना टोली दक्षिण अफ्रिका ४९ रनले विजयी भएको छ। योसँगै ३ खेलको सिरिजमा ऊ ‘क्लिन स्विप’ हुनबाट जोगिएको छ।
दक्षिण अफ्रिका पहिलो र दोस्रो खेलमा क्रमशः ८ विकेट र १६ रनले पराजित भएको थियो। तेस्रो खेल गुमाए पनि भारतले सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो।
उसले घरेलु मैदानमा पहिलोपटक दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिज जितेको हो। सिरिजको तेस्रो खेलमा दक्षिण अफ्रिकाले दिएको २ सय २८ रनको विशाल लक्ष्य पछ्याएको भारतले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ७८ रन मात्र बनाएको थियो।
उसका लागि दिनेश कार्तिक र ऋषभ पन्तले आक्रामक पारी खेले पनि टोलीलाई जित नजिसकम्म पनि पुर्याउन सकेनन्। २१ बलको सामना गरेका कार्तिकले ४ छक्का र ४ चौकासहित ४६ रन बनाएका थिए। पन्तले १४ बलमा ३ चौका र २ छक्काको मद्दतमा २७ रनको आक्रामक पारी खेलेका थिए।
दीपक चाहरले १७ बलमा ३ छक्का र २ चौकासहित ३१ रन बनाएका थिए। हर्षल पटेलले १७ र उमेश यादवले अविजित २० रन जोडे। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। दक्षिण अफ्रिकाका लागि ड्वेन प्रिटोरियसले ३, केशव महाराज, वेन पार्नेल र लुंगि एन्गिडीले २/२ तथा कागिसो रबाडाले १ विकेट लिएका थिए।
त्यसअघि इन्दोरस्थित होल्कर क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय २७ रन बनाएको थियो। उसका लागि रिली रुसोले शतकीय पारी खेलेका थिए। ४८ बलको सामना गरेका रोसोउले ८ छक्का र ७ चौकासहित अविजित १०० रन बनाएका थिए।
टी-२० अन्तर्राष्ट्रियमा उनको यो पहिलो शतक हो। त्यस्तै, क्विन्टन डिककले अर्धशतकीय पारी खेलेका थिए। उनले ४३ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ६८ रन बनाएका थिए।
ट्रिस्टन स्टब्सले २३ रन बनाए। डेविड मिलरले ५ बलमा ३ छक्कासहित अविजित १९ रनको योगदान दिएका थिए। भारतका लागि उमेश यादव र दीपक चाहर १/१ विकेट लिए।