काठमाडौँ - घरेलु टोली अमेरिकाले आइसिसी विश्वकप लिग–२ मा युएईलाई ४ विकेटले पराजित गरेको छ। अमेरिका, स्कटल्यान्ड र युएईबीच भई रहेको त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली अमेरिकाले दुई महत्वपूर्ण अंक बटुलेको हो।
जितको लागि २ सय ४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४४.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो। अमेरिकाको जितमा सुशान्त मोदानीले १ सय २ बलमा ६ चौकासहित ७० रन जोड्दै प्लेयर अफ द म्याच चुनिए। कप्तान मोनाक पटेल ४९, गजानन्द सिंह २९ र स्टिभन टेलरले १४ रन बनाएका थिए।
युएईका कप्तान अहमद राजाले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए। बासिल हामिद, अकिफ राजा र राहुल भाटियाले १–१ विकेट लिएका थिए। त्यसअघि मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो। युएईका सिपी रिजवानले ९३ बलमा ५ चौकासहित ६७ रनको इनिङ खेलेका थिए। चिराग सुरी २३, वृत्य अरविन्द १९ र बासिल हामिद ३२ रनमा आउट भएका थिए। कासिफ दाउद र राहुल भाटियाले २४–२४ रनको योगदान गरे।
अमेरिका अलि खान र क्यामरन स्टिभन्सनले २–२ विकेट लिएका थिए। अमेरिकाले शनिबार युएईसँग नै खेल्नेछ। यो सिरिजपछि नेपाल, अमेरिका र ओमानबीच त्रिकोणात्मक ओडिआई सिरिज सुरु हुनेछ।
अमेरिका १९ खेलमा ९ मा जित र १० मा हार सहित चौथो स्थानमा रहेको छ। युएई २० खेलमा १० मा जित र ८ मा हार सहित तेस्रो स्थानमा रहेको छ। नेपाल १२ खेलमा ६ मा जित र ६ मा हार सहित छैटौं स्थानमा रहेको छ।