काठमाडौँ - नामिबियामा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ।
नामिबिया विरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि नेपालले १ अंक पाएको थियो। स्कटल्याण्डले भने शृंखलाको पहिलो खेलमै नामिबियालाई पराजित गरेको थियो। नेपाल स्कटल्याण्डको त्यो लयलाई रोक्न चाहन्छ।
नयाँ कप्तान रोहित पौडेलको कप्तानीमा नेपालले पहिलो पटक लिग टु खेलिरहेको छ। पहिलो खेलमा नेपालले आफ्नो इनिङ्स पूरै ब्याटिङ गर्दा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाउनु बाहेक अन्य ब्याटरले राम्रो खेल्न सकेनन्। वर्षाले खेल प्रभावित बन्दा नेपालले बलिङ गरेन। त्यसैले स्कटल्याण्ड विरुद्ध खेल्दा नेपालको बलिङ पनि परीक्षण हुनेछ।
टिममा रहेका १४ मध्ये पहिलो खेलमा करण केसी, हरिशंकर शाह र नन्दन यादव बेन्चमा रहेका थिए। दोस्रो खेल कन्डिसन अनुसार नेपाली टिममा परिवर्तन हुन सक्छ। यस्तै ब्याटिङ अर्डरमा पनि परिवर्तन हुने सम्भावना छ।