काठमाडौँ - नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य मिडफिल्डर दीपा न्यौपानेले भारतीय आईलिग छनोट खेल्ने भएकी छिन्। नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी दीपा आईलिग छनोट खेल्ने आज (मंगलबार) दिउँसो साढे १ बजे त्यसतर्फ प्रस्थान गर्दैछिन्।
दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन्। केरेला महिला लिगको च्याम्पियन आईलिगमा छनोट हुनेछ। ‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु। यो मेरो विदेशमा पहिलो अवसर समेत हो’ दीपाले भनिन्।
नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेला, केरेला ब्लास्टर, केरेला युनाइटेड जस्ता चर्चित क्लबको सहभागी हुने केरेला लिगमा डन बोस्को साविक उपविजेता हो।
दीपाले सम्झौता एक वर्षको भएको र सम्झौता रकम भने गोप्य रहेको बताएकी छिन्। आज अगस्ट १० बाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाइटेड भिड्नेछन्। डन बोस्कोले आफ्नो पहिलो खेलमा भोलि लड्र्स पीआरविरुद्ध खेल्नेछ।