काठमाडौँ - बंगलादेशमाथि दुई विकेटको जित हासिल गर्दै श्रीलंका एसिया कप क्रिकेट-२०२२ को सुपर चारमा स्थान पक्का गरेको छ। समूह ‘बी’बाट उपविजेताका रुपमा अगाडि बढेको श्रीलंकाले शनिबार सारजहाँमा हुने सुपर चारमा समूह ‘ए’को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ।
एक सय ८४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित २० ओभरको ३ बल बाँकी रहँदै ८ विकेट गुमाएर विजयी भएको हो। कुशल मेन्डिसले ३७ बलमा सर्वाधिक ६० रन बनाएका थिए। कप्तान डुसान शानाकाले ४५ रन जोड। यस्तै, पाथुम निसांकाले २० रन बनाएका थिए। बंगलादेशका इबादत होसेनले ३ विकेट लिएका थिए।
बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ८३ रनको योगफल तयार गरेको थियो। बंगलादेशका लागि अफिफले ३९ तथा महमुदुल्लाहले २७ रन थपेका थिए। ओपनर मिराजले २६ तथा साकिब अल हसनले २४ रनको योगदान गरेका थिए। श्रीलंकाका वानिन्दु हसरंगा डा सिल्भा र चामिका करुणारत्नेले समान २ विकेट लिएका थिए।
समूह ‘बी’बाट अफगानिस्तान सुपर चारमा प्रवेश गरिसकेको छ। समूह ‘ए’अन्तर्गत शुक्रबार पाकिस्तान र हङकङबीच हुने अन्तिम खेलको विजेता दोस्रो टोलीका रुपमा सुपर चारमा पुग्नेछ।