बागलुङ - राजनीतिमा युवाको वितृष्णा देखिए पनि बागलुङमा धेरै युवाहरु सक्रिय राजनीतिमा छन्। उनीहरु राजनीतिबाटै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिकाको नेतृत्व तहसम्म पुगेका छन्। केही महिनाअघि सम्पन्न नेपाली कांग्रेस, नेकपा र नेकपा माओवादी केन्द्रको महाधिवेशनले पनि राजनीतिमा युवाको आकर्षण बढाएको र त्यसलगत्तै भर्खर सम्पन्न स्थानीय तहको निर्वाचनमा युवाहरु नै पालिकाको नेतृत्व तहमा पुगेका हुन्।
स्थानीय तहको निर्वाचनमा बागलुङ जिल्लामा निर्वाचित धेरै युवामध्ये केही गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा केही नगरपालिकाको प्रमुख र उप्रमुखमा निर्वाचित भएका छन्। केही भने वडाध्यक्ष र वडा सदस्यमा पनि निर्वाचित भएका छन्।
बागलुङमा सबैभन्दा कम उमेरमा पालिकाको नेतृत्व तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले गरेका छन्। उनी लोकप्रिय भएपछि पुनः पालिकाको नेतृत्वमा दोहोरिएका हुन्। यसभन्दा अगाडि पनि अध्यक्ष बनेर पालिकाको नेतृत्व सम्भालेका बुढामगर अहिले ३५ वर्ष पुगे। यसभन्दा अगाडिको निर्वाचनमा निर्वाचित बुढामगरले युवा जोस र जागरका साथ विकट तमानखोलालाई विकासको गतिमा अगाडि बढाउँदै आएका थिए।
पालिका उपप्रमुखमध्ये सबैभन्दा कान्छो उपप्रमुख ढोरपाटन नगरपालिकाका नवनिर्वाचित उपप्रमुख धनबहादुर कायत (कल्याण) छन्। उनी ३३ वर्षमै नगरउपप्रमुख हुनुभएको हो। केही महिना अगाडि भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट ढोरपाटन नगरपालिकाको सभापतिमा निर्वाचित कायत विद्यार्थी कालदेखिनै राजनीतिमा होमिएका थिए। उनी पहिचान विहीन समुदायको पहिलो पालिका नेतृत्वमा पुग्ने युवा हो।
चालिस वर्ष मुनिका पालिका प्रमुख तथा उपप्रमुख बागलुङमा धेरै नै छन्। बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा पनि युवा नेतृत्वमै पर्छन्। यसभन्दा अगाडि पनि गाउँपालिकाको अध्यक्ष भएर नेतृत्व गर्नुभएका उहाँ अहिले ३८ वर्षको हुनुभयो। शर्मा पनि बरेङ गाउँपालिकाको विकासमा निरन्तर लाग्नुभएका कारण पालिका नेतृत्वमा दोहोरिएका हुन्। जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, बडिगाड गाउँपालिकाका उपप्रमुख भिमशेन वन र तमानखोला गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्याल पनि युवा छन्। उनीहरु ३८ वर्ष पुगे। जिल्लाकै एक मात्र महिला पालिका प्रमुखमा निर्वाचित भएका बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी ४१ वर्षको हुनुहुन्छ। उहाँ यसअघिको निर्वाचनमा पराजित भएका थिए। बागलुङ नगरपालिकाको उपप्रमुखमा निर्वाचित राजु खड्का पनि युवा नै हुन्। पालिका प्रमुख मात्रै हैन ८५ वटा वडा रहेका बागलुङमा अधिकांश वडाध्यक्ष युवा नै निर्वाचित भएका छन्।
गलकोट नगरपालिका–५ का वडाध्यक्ष पवन हमाल जिल्लामै सबैभन्दा कान्छो वडाध्यक्षमा पर्छन्। उनी २७ को उमेरमा वडा अध्यक्षमा निर्वाचित भएका हुन्। जिल्लामा ३० वर्षभन्दा माथि र ४० वर्ष मुनिका जनप्रतिनिधि धेरै छन्। तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बुढापाको अनुभव र सुझावलाई आत्मसाथ गर्न सके विकास गर्न सकिने अनभुव सुनाउँछन्। अघिल्लो कार्यकालमा बुढापाका र पूर्वजनप्रतिनिधिहरुको सल्लाह सुझाव र समन्वयमा विकासका गतिविधिलाई चुस्त बनाइएको र यो कार्यकालमा पनि त्यसरी नै अगाडि बढ्ने अध्यक्ष बढामगर बताउँछन्।
युवा जोसले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने र उनीहरुमा नयाँ र पृथक योजना हुने उनको भनाइ छ । बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा पनि पाका पुस्ताको प्रेरणाबाट युवाले परिवर्तन ल्याउन सक्ने बताउँदै बुढापाकामा धेरै ज्ञान हुने र उनीहरुबाट सिकेका कुरा व्यवहारमा लागू गर्न सके समाज रुपमान्तरमा टेवा मिल्ने बताउँछन् । यस अगाडिको कार्यकालमा उनीहरुसँग सुझाव लिएर विकास निर्माणमा जुटेकाका कारण आफू सफलतातर्फ अगाडी बढेको उनको भनाइ छ।