काठमाडौँ - एसियाली फुटबल महासंघ (एएफसी)ले फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को एसिया छनोटको ढाँचा सार्वजनिक गरेको छ। उक्त ढाँचामा नेपालको खेल पहिलो चरणमै छ। अमेरिका, क्यानडा र मेक्सिकोले सन् २०२६ को विश्वकप संयुक्त रूपमा आयोजना गर्दै छन्। फिफाका अनुसार यसपटक विश्वकपमा ४८ टोलीबीच प्रतिस्पर्धा हुनेछ।
विश्वकपमा फिफाले एसियामा ८ टोलीको कोटा निर्धारण गरेको छ। यसमध्ये १ टोलीले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउनेछ। प्लेअफ जितेको अवस्थामा थप १ एसियन टोलीले विश्वकपमा स्थान बनाउनेछ।
एएफसीले विश्वकपमा सहभागिता जनाउन फिफाको वरीयताअनुसार छनोट चरण खेल निर्धारण गरेको छ। एसियाको २६औँ वरीयतापछि रहेका टोलीले पहिलो चरणदेखि विश्वकप छनोट चरण खेल्नुपर्नेछ। फिफा वरीयतामा नेपाल १७६औँ स्थानमा रहेको छ। एसियन वरीयतामा नेपाल ३७औँ स्थानमा रहेको छ। एसियाका ४७ राष्ट्र फिफा वरीयतामा छन्।
एएफसीका अनुसार पहिलो चरणको खेल अक्टोबर २०२३ मा हुनेछ। एएफसीले सार्वजनिक गर्ने विश्वकप छनोट प्रावधानमा पहिलो चरणमा २२ टोलीबीच प्रतिस्पर्धा हुनेछ। यसमा एएफसीको २६ देखि ४७औँ स्थानका टोलीबीच खेल हुनेछ। २२ टोलीले होम एन्ड अवेअनुसार आपसमा प्रतिस्पर्धा गर्नेछन्।
पहिलो चरणको विजेता ११ टोली दोस्रो चरणमा पुग्नेछन्। यसैगरी, विश्वकपअन्तर्गत एसियन छनोटको दोस्रो चरणमा १ देखि २५औँ वरीयता र पहिलो चरणबाट छनोट भएका ११ टोलीबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणमा एसियाका ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। एएफसीले ३६ टोलीलाई ९ समूहमा विभाजन गरेको छ।
प्रत्येक समूहमा ४ टोली हुनेछन्। यो पनि होम एन्ड अवेअनुसार हुनेछ। दोस्रो चरणको समूह विजेता र उपविजेता गरी तेस्रो चरणमा १८ टोली हुनेछन्। दोस्रो चरण मार्च २०२४ मा हुनेछ। दोस्रो चरण पार गरेका १८ टोली सीधै एएफसी एसियन छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
एएफसीले तेस्रो चरणमा सहभागी १८ टोलीलाई ३ समूहमा विभाजित गरेको छ। प्रत्येक समूहमा ६ राष्ट्र हुनेछन्। ३ समूहका विजेता र उपविजेता गरी ६ राष्ट्रले सन् २०२६ को विश्वकपमा स्थान पक्का गर्नेछन्।
एसियन क्वालिफायरअन्तर्गत तेस्रो चरणमा प्रतिस्पर्धा गरेको ३ वटै समूहका तेस्रो र चौथो टोलीबीच प्लेअफ खेल हुनेछ। यसमा ६ टोलीलाई पनि समूह विभाजन एएफसीले गरेको । यो एकल राउन्ड हुनेछ। २ समूहका शीर्ष २ टोलीले विश्वकप खेल्नेछन्।