काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमवाट सो अविधेशनको उदघाट्न गरे।
सो अधिवेशन तीन दिनसम्म चल्नेछ। उक्त अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका करिब दुई हजार अधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ। उद्घाटन समारोहमा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले राष्ट्रमा सङ्कट परेको बेला कांग्रेसले निकास दिने गरेकाले यस अधिवेशनबाट सही नेतृत्व चयन गर्न अधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरे।
कांग्रेसले देशमा सधै नेतृत्वदायी भूमिका खेलेको बताउँदै उनले कांग्रेस लोकतान्त्रिक, सिद्धान्तवादी तथा शान्तिमा विश्वास राख्ने पार्टी भएको बताए। नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले यो अधिवेशन चुनौती र अवसरका रुपमा रहेकाले यसले सही र उत्तरदायी नेतृत्वलाई चयन गर्नुपर्ने बताए। उनले आउँदो आम निर्वाचनमा कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।
अधिवेशनका संयोजक तथा नेता सिहंको सभापतित्वमा भएको सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेता राजन केसीले सो अवसरमा अधिवेशन सफलताको कामना गरे। अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।