गणतन्त्रात्मक शासन व्यवस्थालाई समृद्धिको बहसमा केन्द्रित गरौँ : ओली

काठमाडौँ - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भएको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले आपसमा निराशा बाँडेर बस्ने सामाजिक प्रवृत्तिलाई आफूहरूले मुलुकमा गणतन्त्र स्थापना गरेर सुशासन र समृद्धितर्फको बहसमा केन्द्रित गर्न सफल भएको बताएका छन्।

उनले अघिल्लो सरकारले नयाँ संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको बहसतर्फ अग्रसर गराएको बताए।

“आजको यस ऐतिहासिक दिनले मुलुकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा आधारित राजतन्त्रात्मक शासकीय व्यवस्थाबाट जनताको सर्वोच्चताको प्रणालीमा रूपान्तरण गरेको थियो। मुलुकको सार्वभौमसत्ता र राजकीयसत्ताको स्रोत नेपाली जनतामा निहीत रहने ऐतिहासिक उपलब्धि हामीले हासिल गरेका थियौँ,” उनले सन्देशमा भनेका छन्, “यस ऐतिहासिक परिवर्तनपछि मुलुकले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासकीय व्यवस्थाको अभ्यास गरिरहेको छ।”

अध्यक्ष ओलीले संविधानमा निहीत संघीय लोकतान्त्रिक गणतन्त्रलाई संरचनात्मक अभ्यासमा अनुवाद गरेर मुलुकमा नवनिर्माणको नयाँ युगको थालनी भएको बताए।

“जनादेशद्वारा स्थापित हाम्रो नेतृत्वमा भएका यस्ता युगान्तकारी कामले गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो। यसले सिंगो राष्ट्रलाई समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यतर्फ अघि बढाएको थियो,” उनले  सन्देशमा भनेका छन्।

उनले जनताको बलिदानीपूर्ण संघर्षले स्थापित भएको लोकतान्त्रिक गणतन्त्रमाथि आज संविधानले परिभाषित गरेका राज्यका अंगलाई दुरुपयोग गरी संविधान र प्रणालीको अतिरिक्त व्याख्या तथा अपव्याख्याद्वारा प्रहार गर्ने काम समेत भइरहेको उल्लेख गरे।

“संविधानमाथि प्रहार गर्दा मुलुकको दूरगामी यात्रालाई अल्मल्याउँदै संविधान र संवैधानिक संस्थाप्रतिको जनताको आस्थामाथि समेत चोट पुर्‍याएको छ,” उनले सन्देशमा भनेका छन्, “आज मुलुकको विकासमा सम्पूर्ण काममा अल्पविराम लागेका छन् र केही वर्षयता सुरु भएको विकासको राष्ट्रिय बहसको ठाउँ सत्ताशक्तिको अनुचित भागबन्डा, लेनदेन र राज्यस्रोतको दोहनले लिएको छ।”

उनले एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गर्ने संकल्प बोकेको पार्टी रहेको भन्दै राष्ट्रको यस आकांक्षालाई पूरा गरेर लोकतान्त्रिक गणतन्त्रलाई जनअनुभूतिबाट प्रमाणित गर्न चाहेको बताएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×