काठमाडौँ - पाकिस्तानका लोकप्रिय टेलिभिजन प्रस्तोता आमिर लियाकत हुसेनको ५० वर्षको उमेरमा निधन भएको छ।
हुसनेलाई कराँचीस्थित उनकै निवासमा अचेत अवस्थामा भेटाइएपछि तत्काल अस्पताल पुर्याइएको थियो। तर,अस्पतालमा उनलाई मृत घोषित गरियो।
टेलिभिजन करियरबाट राजनीतिमा प्रवेश गरेका हुसेन इमरान खानको पीटीआई पार्टीबाट विधायकमा चुनिन सफल भएका थिए। उनको टेलिभिजन करियर विवादित थियो। उनले टेलिभिजन कार्यक्रममार्फत नै निःसन्तानहरूलाई शिशु प्रदान गरेका थिए भने घृणापूर्ण भाषण गरेको भन्दै उनको कार्यक्रम प्रतिबन्धमा पनि परेको थियो।
स्पष्ट वक्ताको रूपमा रहेका उनको तीनपटक विवाह भएको थियो। सार्वजनिक रूपमा र तिक्ततापूर्ण तरिकाले सम्बन्ध विच्छेद भएकाले पछिल्लो समयमा उनी विवादित बनेका थिए।