काठमाडौँ । काठमाडौँमा आज पनि स्वतन्त्र कानुन व्यवसायीहरुले आन्दोलनरत वकिलहरुको विरुद्धमा काउन्टर प्रोटेस्ट गरिरहेका छन् ।

न्यायालयको काम कारवाही नै ठप्प हुने गरि अराजक शैलीमा उत्रिएका वकिलहरुको विरुद्ध उनीहरुले आवाज उठाएका हुन् । न्यायालयमा निरन्तर न्याय सम्पादनमा गतिरोध आउने गरि वकिलहरुले गरेको आन्दोलनको विरोध गर्दै न्याय सम्पादन निर्वाधरुपमा चल्नु पर्ने र जनताको न्याय पाउने हकलाई खोस्न नहुने भन्दै स्वतन्त्र कानुन व्यवसायीहरुले आवाज उठाइ रहेका छन् । यसै क्रममा आज पनि काठमाडौँको नयाँ बानेश्वर स्थीत एभ्रेष्ट होटल अगाडी स्वतन्त्र कानुन व्यवसायीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुको साथमा सयौँको संख्यामा आम सर्वसाधारणहरु उभिएका छन् ।

यसै विरोध प्रदर्शनलाई सम्बोधन गर्दै अधिवक्ता विष्णु ओलीले जनताको पसिनाबाट आएको करबाट जम्मा भएको राजस्वबाट तलब खाने र चिल्लो गाडीमा चढ्ने तर जनताकै काम नगर्ने बरु घुस कसरी खान सकिन्छ भन्ने तीर लाग्ने विकृति सर्वोच्च अदालतमा रहेको उनले बताए । उनले भने, "आज हामी अदालतमा पस्न नदिने वकिल मुर्दावाद, मुद्दा नहेर्ने न्यायाधीशहरु मुर्दावाद भन्ने प्लेकार्डहरु अगाडि राखेका छौँ । त्यसको सन्दर्भमा हामी सरकारले दिएको तलब खान्छौ जनताबाट उठाएको करबाट जम्मा भएको राजस्वबाट हामी तलबभत्ता बुझेर सुकिलो चिल्लो गाडिमा चढेर हिँड्छौ । अनि सर्वोच्च अदालत भित्र छिर्छौ अनि जनताको काम गर्दैनौँ अनि हामी राजनीति गर्छौ । सर्वोच्च अदालत राजनीति गर्ने ठाउँ हैन । त्यहाँ भएका श्रीमान्हरुले आफ्नो पेशा के हो ? आफ्नो काम कर्तव्य के हो ? जनताहरुलाई उहाँहरुले कति सुविधा दिनु भयो ? जनताहरु वहाँहरुको मुहार हेरेर बसेका हुन्छन् कि हामीले न्याय पाउँछौँ कि पाउँदैनौ ? जनताको आकांक्षा भनेकै कसरी न्याय पाउने हो । सर्वसुलभ ढंगले जनताले न्याय पाउँ भन्ने जनताको आकांक्षा हो । तर त्यो आकांक्षा तिर नगएर सर्वोच्च अदालतमा कसले राजीनामा दिने हो ? कस्को राजनीनामा माग्ने? कसरी घुस खाने ? कसरी कमिसनतन्त्र बढाएर लाने ? कसको मुद्दा कसले हेर्ने ? यी किसिमका विविध विकृतिहरु देखिएका छन् । "

उनले यीनै विकृतिहरुलाई समावेश गरि सृजना गरिएको आफ्ना साहित्यीक रचना समेत प्रस्तुत गरेका थिए । उनका केहि रचनालाई यहाँ प्रस्तुत गरिएको छ ।
१.
जनताको रगत पसिनाबाट तलब भत्ता खान्छौ
चिल्ला गाडि चढ्छौ काम गर्दैनौ भने अदालत किन जान्छौ
न्यायमूर्ति स्वयं कानुन मान्दै भने जनता कहाँ जाने
नबिर्स जनता जनार्दन हुन् चिढिए भने के के खान्छौ के के खान्छौ ।
२.
गणतन्त्र मेरो मैले ल्याएको भन्ने भ्रममा नपर कठपुतली हौ
एक भएर बसे सनपाट हौ नत्र सानो सुतली हौ
यो देश तिम्रो मात्र हैन तीन कोटी नेपालीको हो
धेरै उफ्र्यौ अब नउफ्र देश खाने घुन पुतली हौ ।
