बागवानी र ज्ञान केन्द्र गाभ्ने निर्णय पुनः विचार गर्न आग्रह

सोलुखुम्बु - प्रदेश १ सरकारले विभिन्न कार्यालयलाई समायोजन गर्ने निर्णय गरेको छ। प्रदेश मातहतका बागवानी केन्द्र फाप्लुसहित कृषि क्षेत्रका पाँच फार्मलाई कृषि ज्ञान केन्द्रमा समायोजन गरिएका छन्।

गत माघ २३ गते प्रदेश १ को मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको कृषि मन्त्रालयका सूचना अधिकारी कुमारसिंह खत्रीले जानकारी दिए। तर यस क्षेत्रका विज्ञले भने बागवानी केन्द्रलाई कृषि ज्ञान केन्द्रसँग समायोजन गर्ने प्रदेश सरकारको निर्णय पुनः विचार गर्नुपर्ने बताउँछन्। प्रविधि क्षेत्रको कृषि फार्मलाई प्रसारसँग सम्बन्धित ज्ञान केन्द्रमा समायोजन गर्ने निर्णय समयसान्दर्भिक नभएको उनीहरुको भनाइ छ। 

उद्देश्य फरक
हिउँदे फलफूलको बिरुवा उत्पादन तथा अनुसन्धान गरी हिमाली तथा पहाडी क्षेत्रमा फलफूलको उत्पादन बढाउने उद्देश्यले २०३४ सालमा फाप्लुमा स्थापना भएको केन्द्र कृषकसँग प्रत्यक्ष जोडिएको र महत्वपूर्ण कार्यालय रहेको कृषि तथा पशुपक्षी मन्त्रालयका पूर्वसचिव योगेन्द्र कार्कीको भनाइ छ। प्राविधिक ज्ञान तथा सीपसहित कृषकलाई सहयोग गर्ने केन्द्रलाई कृषि प्रसारको क्षेत्रमा काम गर्ने कार्यालयमा लगेर गाभ्नु कुनै पनि कोणबाट सान्दर्भिक नभएको उनको भनाइ छ।

उनले भने, “ज्ञान केन्द्रलाई दुई वा सोभन्दा बढी जिल्लामा पायक पर्ने ठाउँमा राख्न सकिन्छ तर फार्मका रुपमा रहेको बागवानीलाई त्यसरी कतै लग्ने गाभ्ने कार्य गर्नु समय सान्दर्भिक होइन, त्यसो गर्नु हुन्न।” सांसद हेमकुमार राईले कृषिमा आधुनिकीकरण तथा यान्त्रीकरणसहित आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए। 

बागवानी केन्द्र फाप्लुका प्रमुख उपेन्द्र ठाकुरले पनि कृषि ज्ञान केन्द्र र बागवानी फार्मको कार्य प्रकृति फरक भएकाले एकै ठाउँमा हुँदा काम गर्न गाह्रो हुने बताए। बागवानी कार्यालयले हिउँदे फलफूल स्याउ, नास्पाति, आरुबखडा, ओखर र किवी लगायतको बिरुवा उत्पादन र बिक्री गर्ने कार्यक्षेत्र रहे पनि ज्ञान केन्द्रले अनुदानको कार्यक्रम सञ्चालन गर्ने भएकाले यसको प्रकृति नै फरक भएको उनले प्रस्ट पारे। तर मन्त्रालयको परिपत्रअनुसार आफूहरुले काम गर्नुपर्ने उनको धारणा छ।

यस्तै पूर्वबागवानी विकास अधिकृत एवं बागवानी विज्ञ चन्द्रमान श्रेष्ठले प्रदेश सरकारको उक्त निर्णय अपरिपक्व भएको बताए। छुट्टै कार्यालयबाट किसानलाई सेवा प्रवाह गर्दै आएका फार्मले अब कृषि ज्ञान केन्द्रको एउटा इकाइबाट सेवा दिने गरी खुम्च्याउनुले कृषि क्षेत्रप्रति प्रदेश सरकारको दृष्टिकोण उजागर भएको श्रेष्ठको भनाइ छ। मन्त्रालयको सङ्ख्या बढाएपछि लेखा र प्रशासनको कर्मचारी अभाव भएकाले प्रदेश अन्तर्गतका दुई कार्यालय खारेज र कृषि अन्तर्गतका फार्म क्षेत्रका पाँच कार्यालय प्रदेश सरकारले समायोजन गरेको जनाएको छ।

प्रदेश सरकारले बागवानी केन्द्र जौवारीलाई कृषि ज्ञान केन्द्र इलाममा र बागवानी केन्द्र फाप्लुलाई कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा, रेशम विकास कार्यक्रम धनकुटालाई कृषि ज्ञान केन्द्र धनकुटामा, रेशम प्रशोधन कार्यक्रम इटहरीलाई कृषि ज्ञान केन्द्र सुनसरीमा र माटो तथा मल परीक्षण प्रयोगशाला सुरुङ्गालाई कृषि ज्ञान केन्द्र झापामा समायोजन गरेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×