काठमाडौँ - आमिर खान स्टारर बलिउड फिल्म ‘लाल सिंह चड्डा’को नेपाल अधिकार अहिलेसम्मकै सर्वाधिक मूल्यमा बिक्री भएको छ।
ब्यांकटेस इन्टरटेनमेन्टले २ करोड रुपैयाँमा फिल्म किनेको हो। ‘केजीएफ : च्याप्टर २’लाई पनि ब्यांकटेसले नै १ करोड ७० लाख रुपैयाँमा खरिद गरेको थियो। ‘आरआरआर’को राइट १ करोड रुपैयाँमा किनेको थियो।
आमिर र करिना कपुरको मुख्य भूमिका रहेको फिल्म ‘लाल सिंह चड्डा’ साउन २६ गते नेपालसहित विश्वभर प्रदर्शन हुँदैछ।
२ करोडमा खरिद गरिएको आमिरको यो फिल्मबाट लगानी उठाउन ६ करोड रुपैयाँ कमाउनुपर्छ। ठूला स्टारका फिल्म, त्यसमा पनि महंगो मूल्य भएपछि स्वभाविक रुपमा वितरकमाथि दबाब पर्छ। किनभने कन्टेन्ट वितरकको नियन्त्रणमा हुँदैन।
आमिर खान प्रोडक्सन र भायकम-१८ कम्पनीले निर्माण गरेको फिल्मको बजेट १५० करोड भारु बताइएको छ। फिल्मको विश्वव्यापी वितरण हलिउड स्टुडियो प्यारामाउन्ट पिक्चर्सले गर्दैछ।
यो फिल्म सन् १९९४ मा रिलिज भएको टम ह्यांक्स स्टारर हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक हो। यसैबीच, करण जोहरको आगामी फिल्म ‘लाइगर’को नेपाल राइट पनि महंगो मूल्यमा प्रस्ताव भएको छ।