काठमाडौँ । हालै जेनजी पुस्ताले सञ्चालन गरेको आन्दोलनका क्रममा देशभरका प्रहरी कार्यालय, सरकारी निकाय र यातायात संरचनामा आगजनी हुँदा ठूलो क्षति पुगेको छ। यस क्रममा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनका बिलबुक, रोड परमिट र जाँचपासलगायत कागजात जलेर नष्ट भएको व्यवसायीहरूले बताएका छन्।
नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार कागजात नष्ट भएपछि व्यवसायी थप समस्यामा परेका छन्। महासङ्घले सम्बन्धित निकायलाई पीडित व्यवसायीलाई सहजीकरण गर्न आग्रह गरेको छ।
यता, आन्दोलनका क्रममा यातायात व्यवस्था विभागकै संरचना, इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुग्दा विभागका सूचना प्रविधि प्रणाली पूर्णरूपमा ठप्प भएका छन्। यसका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र विद्युतीय सवारी दर्ता सेवा अवरुद्ध भएको छ।
महासङ्घले मन्त्रालय र सम्बन्धित निकायसँगको छलफलमा सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ। मन्त्रालयका सचिव केशवराज शर्माले मन्त्रालयले तत्काल आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको महासङ्घले जनाएको छ।