काठमाडौं - रोल्पाको माडी गाउँपालिका–४ परेवा छहरास्थित सडकमा घर्तिगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु.१ ज ३२५२ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपका चालक समेत ६ जनाको चौरहा अस्पताल बुटवल रूपन्देहीमा उपचारको भइरहेको छ ।
प्युठानको मल्लरानी गाउँपालिका–१ अर्बाङस्थित सडकमा लु.५१ प २१०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक प्युठान नगरपालिका–७ पुण्यखोला बस्ने ३४ वर्षीय अनिल केसीको घटनास्थलमै मृत्यु भएको छ ।
मोरङको उर्लाबारी नगरपालिका–६ सिसौलीस्थित सडकमा बाग्मती प्रदेश ०३–००१क १०९० नम्बरको टिपरले प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक उर्लाबारी नगरपालिका–६ बस्ने २७ वर्षीया सिता बोहोराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मदन भण्डारी अस्पताल ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।