काठमाडौँ - विवाद र अनेक लफडाबीच हलिउड अभिनेता जोनी डीपको जीवन लयमा फर्किने संकेत देखिएको छ। आगामी वर्ष उनी २५ वर्षपछि निर्देशकको कुर्सीमा फर्किंदैछन्।
यी लोकप्रिय अभिनेताले इटालीका कलाकार अमेदियो मोदिग्लानीको जीवनमाथि आधारित हुने फिल्मलाई निर्देशन गर्नेछन्। फिल्मको शीर्षक ‘मोदिग्लानी’ राखिएको छ। साथै, जोनीले भेट्रान एक्टर अल पचिनोसँग मिलेर फिल्म समेत निर्माण गर्दैछन्। तर कलाकारबारे केही टुंगो भने लागेको छैन।
अमेदियो मोदिग्लानी इटालीका चित्रकार हुन् जो मरणोपरान्त चर्चित रहे। उनको शैलीले जीवनभर प्रसिद्धि पाएन र उनले आफूलाई आलोचनात्मक र व्यावसायिक रुपमा असफल ठान्थे। सन् १९२० मा मृत्यु भएपछि युरोपमा उनका सिर्जनाको व्यापक खोजी भयो। हलिउड रिपोर्टर म्यागजिनका अनुसार यो फिल्म डेनिस म्याकइन्टायरको नाटकमा आधारित हुनेछ, जसलाई जेर्जी र मेरी क्रोमोलोस्कीले नाट्य रुपान्तरण गर्नेछन्।
यो फिल्मले २० औं शताब्दीको सुरुवातमा पेरिसमा बस्ने प्रसिद्ध चित्रकारको जीवनकथालाई पुनः वर्णन गर्नेछ। ‘मोदिग्लानीको गाथालाई ठूलो पर्दामा ल्याउन लाग्दा म आफूलाई सम्मानित र गर्विलो महसुस गर्छु,’ फिल्ममा सहभागिताबारे जोनीले भनेका छन्।
विवरण अनुसार जोनीले आफ्नो निर्माण कम्पनी इन्फिनिटम निहिलको युरोपेली शाखा आइएन टुको लागि फिल्म निर्माण गर्नेछन्। अल पचिनो र ब्यारी निभिडी सहनिर्माता रहेका छन्।
आगामी वर्षको वसन्तयामदेखि फिल्म निर्माण सुरु हुनेछ भने कलाकारको घोषणा पनि सोही समय हुनेछ। जोनीले यसअघि सन् १९७७ मा रिलिज भएको फिल्म ‘द ब्रेभ’ निर्देशन गरेका थिए।
उनले बक्स अफिसमा सफल फिल्म ‘हयुगो’सहित ११ फिल्म निर्माण गरेका छन्। अभिनेताको रुपमा उनले फ्रान्सेली राजा लुइस चौधौंमाथि बन्ने फिल्म जिन डु बेरीमा अभिनय गर्दैछन्।