भारत। बहुप्रतिक्षित दक्षिण भारतीय चलचित्रहरू मध्ये ‘पुष्पा’ पनि एक हो। लोकप्रिय अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दाना अभिनीत चलचित्र तमिल, तेलुगु, हिन्दी, मलयालम र कन्नड भाषामा निर्माण गरिएको छ। सुकुमारको निर्देशन रहेको चलचित्र १७ डिसेम्बरबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। खबरका अनुसार चलचित्रको डिजिटल राइट्स महँगो रकममा विक्री भएको छ। चलचित्रले ओटीटी र डिजिटल राइट्सबाट २ सय ५० करोड रुपैँया कमाइसकेको छ। यसरि २ सय ५० करोडकै लगानीमा बनेको चलचित्रले आफ्नो लगानी प्रदर्शन अघि नै उठाएको छ। रक्तचन्दन तस्करीसम्बन्धि कथा बोकेको चलचित्र अमेजन प्राइम भिडियो, अहा आदि ओटीटी प्ल्याटफर्ममा रिलिज हुदैछ भने तेलुगु भाषाको टिभी ‘स्टार मा’मा टेलिभिजन प्रिमियर हुनेछ। चलचित्र दुई भागमा प्रदर्शन गरिनेछ। चलचित्रको दोस्रो भागको पनि छायांकन सकिइसकेको छ।