नवौं राष्ट्रिय खेलकुदः ३६ खेलको खेलस्थल सार्वजनिक

पोखरा - नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलको खेलस्थल टुंगो लागेको छ। राष्ट्रिय खेलकुद प्रचारप्रसार समितिले पोखरामा बुधबार साँझ प्रतियोगितामा समावेश ३६ खेलको खेलस्थल सार्वजनिक गरेको हो।

खेलहरू अधिकांश गण्डकी प्रदेश राजधानी पोखरा केन्द्रित छन्। नवौं राष्ट्रिय खेलकुद आगामी २८ असोजदेखि ३ कात्तिकसम्म हुँदैछ। क्रिकेट पुरुष काठमाडौं, फुटबल महिला वालिङ, भलिबल महिला तथा तेक्वान्दो म्याग्दी, बुद्धिचाल गोरखा, कुस्ती र सेपाक्टाको महिला तथा पुरुष नवलपुर, सुटिङ काठमाडौं, कराँते पर्वत, आईटीएफ तेक्वान्दो बागलुङबाहेक बाँकी सबै खेलका प्रतियोगिता पोखरा र यस आसपासमा हुनेछन्।

खेलस्थल छनोट समिति संयोजक एवं राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङले प्राविधिक कारणले खेलस्थल परिवर्तन हुने अवस्था आएमा पछि परिवर्तन गर्न सकिने बताए।

यसअघि गण्डकीका ११ वटै जिल्ला समेट्नेगरी प्रतियोगिता सञ्चालन गरिने भए पनि ४ जिल्ला छुटेका छन्। जसमा हिमालपारिका जिल्ला मनाङ, मुस्ताङसहित लमजुङ र तनहुँमा कुनै खेल हुनेछैनन्।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले संघीय संरचनामा गइसकेपछि सम्बन्धित प्रदेशले खेलाडीको सेवासुविधा लगायतको जिम्मेवारी लिनुपर्ने प्रावधान भए पनि पछिल्लो समय गुनासो आएकाले राखेपले नै टोकन मनी उपलब्ध गराउने र प्रदेश पनि कन्भिन्स भएको उल्लेख गरेका छन्।

राखेप सदस्य सचिव टंकलाल घिसिङले आफूहरूले ट्रफी सार्वजनिक गरेको अब सबै प्रदेश र विभागमा पुर्याउने बताएका छन्। त्यसका लागि दीपक बिष्टको संयोजकत्वमा टिम बनाइसकेको उनले जानकारी दिएका छन्।

ट्रफी टुर कार्यक्रम भदौ ३१ देखि सुरु हुनेछ। सदस्य सचिव घिसिङले निर्धारित समयभन्दा पछि हुन लागेको यो प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न कुनै पनि कसर बाँकी नराख्ने बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×