काठमाडौँ - प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले इस्लाम धर्ममा महिलाको अधिकार परापूर्वकालदेखि नै स्थापित भएको बताएका छन्।
इस्लामी सङ्घ नेपालद्वारा नारी दिवसका अवसरमा आज यहाँ आयोजित ‘राष्ट्रव्यापी महिला अधिकार अभियान’ को समापन समारोहमा उनले महिलाको अधिकार धार्मिक ग्रन्थ कुरानमै उल्लेख हुनु निकै रमाइलो पक्ष भएको बताएका छन्। मन्त्री कार्कीले महिलाको विवाह हुने अन्तिम समयमा पनि 'विवाह गर्न राजी छौ कि छैनौ' स्वीकृति लिने प्रचलनले महिला अधिकार स्थापित भएको एक उदाहरण भएको बताउँदै मुस्लिम महिलाले अधिकारको लडाइँसँगै शिक्षामा पनि अघि बढ्नुपर्ने सुझाव दिएका छन्।
महिलाबिनाको सृष्टिको सिर्जना हुन नसक्ने भन्दै मन्त्री कार्कीले अधिकार मागेर होइन, खोसेर लिन सक्नुपर्ने बताए। सो अवसरमा मौलाना ताहिर नदवी, जुलफकर अली जेनिसा सुमन, केशरजहाँ फलाही र जनिसा खातुनले पनि महिला अधिकारका पक्षमा बोलेका छन्। कार्यक्रममा चिकित्सा तथा शिक्षा क्षेत्रमा अमूल्य योगदान दिने मुस्लिम समुदायकका अगुवा महिला प्राध्यापक बिलकिस बानो, डा. फरिदा खातुन, समाजसेवी जनिसा सुमनलाई सम्मानसमेत गरिएको थियो।
फागुन २० गतेदेखि २६ गतेसम्म सञ्चालन भएको सो अभियान प्रदेश नं १ मा मुस्लिम बाहुल्यता भएको क्षेत्रमा प्रवचन दिने, चेतना फैलाउने तथा सुनसरी, मोरङ, झापा, उदयपुर र कृषि इञ्जीनियरिङ क्याम्पस धरानसहित सामुदायिक विद्यालय एवं मदरसा र निजी विद्यालयमा सो अभियान सञ्चालन गरिएको बताइएको छ।