काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। महासचिव भुसालले नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको बताए।
उनले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरूलाई मतदान गर्ने तरिका राम्रोसँग बुझाउन नसक्दा धेरै मत बदर भइ आफू पराजित हुनुपरेको बताए। उनले आगामी निर्वाचनमा भने समयमा नै मतदाताहरूलाई मतदाता शिक्षाको बारेमा स्पष्ट जानकारी गराइ मत बदर हुनबाट रोक्नुपर्ने बताए। महासचिव भुसालले पुनः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि मत बदर भए गठबन्धनले चुनाव हार्ने बताए। उनले चुनावको खेल धेरै डरलाग्दो हुने भन्दै मत बदर नहोउन् भन्ने कुरामा अत्यन्त सजग हुन जरुरी रहेको बताए।
उनले भने, ‘यो गठबन्धन हामीले नेपाली जनताले धेरै लामो संघर्षबाट प्राप्ति गरेका उपलब्धिको रक्षाका लागि बनाएका हौँ। खाली आज चुनावका लागि मात्रै होइन। जब नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको संविधानलाई खारेज गर्ने दिशामा तत्कालीन प्रधानमन्त्रीले प्रतिनिधि सभाको विघटन गरेपछि हामीले प्रतिनिधिसभाको रक्षा गरेर हामा उपलब्धिहरुलाई रक्षा गर्न लाग्यौँ। हामीले असफल पनि पारेका थियौँ। यो प्रश्न जनताको बीचमा स्पष्ट पार्नुपर्ने आवश्यक्ता छ।’
उनले थप भने– ‘हामी गठबन्धन बनाएर संविधानको रक्षा गरेका थिएनौँ भने लोकतन्त्र समाप्त हुने थियो। स्थानीय निर्वाचनमा पनि हामी गठबन्धन गरेर चुनावमा लडेका थियौँ। धेरै ठाउँमा मत बदर भएका कारणले हामीले चुनाव हारेका छौँ। यहीँ काठमाडौं महानगरपालिकामा पनि धेरै मत बदर भएका कारण हामीले चुनाव हार्यौ। महानगरमा मत बदर नभएको भए हामीले चुनाव जित्थ्यौँ। हाम्रा मत बदर भएका कारण मेयर, उपमेयरले प्राप्त गरेका मत पनि जुन संख्यामा बदर भयो, त्यो कारणले हामीले चुनाव हारेका छौँ। यसलाई हामीले बिर्सिनु हुँदैन। फेरि पनि हाम्रा मतहरु बदर भए भने फेरि पनि हामी चुनाव हार्न सक्नेछौँ। चुनावको खेल भनेको धेरै खतरनाक खेल हुन्छ। त्यसलाई बुझ्न जरुरी छ। मत बदर नहोउन् भन्ने कुरामा अत्यन्त सजग हुन जरुरी छ।’
महासचिव भुसालले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई सबै जनताले जिताउन आवश्यक रहेको बताए।