काठमाडौँ - ओस्कार अवार्ड मनोनित र दुईपटक गोल्डेन ग्लोब्स विजेता अभिनेता जेम्स फ्रांकोले विश्वचर्चित क्युबाली कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको भूमिकामा अभिनय गर्ने भएका छन्।
डेडलाइन हलिउड म्यागजिनका अनुसार मिगुएल बार्डेनले निर्देशन गर्ने फिल्म ‘एलिना अफ क्युबा’मा उनले अभिनय गर्न लागेका हुन्। उनले इमाजेन अवार्ड विजेता अभिनेत्री मिया माएस्ट्रोसँग फिल्म खेल्ने टुंगो लागेको बताइएको छ।
फिल्ममा अभिनेत्री माएस्ट्रोले क्युबामा जन्मिएकी सेलिब्रिटी नातालिया ‘न्याटी’ रेभुएल्टाको चरित्र निर्वाह गर्नेछिन्। एना भिलाफेनले क्यास्ट्रोकी छोरीको भूमिकामा अभिनय गर्दैछिन्। ओस्कार मनोनित पटकथा लेखक जोस रिभेरिया र पुलित्जर पुरस्कार लेखक निलो क्रुजले मिलेर कथा लेखिरहेका छन्।
कम्युनिस्ट क्रान्तिको सुरुवातमा सघाउन रिभुएल्टाले आफ्नो सम्पत्ति र चिकित्सक पतिको सामान उपलब्ध गराएको विषय फिल्ममा समेटिनेछ।
कोलम्बियाको औपनिवेशिक स्पेनिस वास्तुकला र डिजाइनले आकर्षक सहरहरु कार्टागेना र बोर्टोगामा फिल्म अगस्ट १५ देखि छायांकन सुरु हुनेछ।