काठमाडौँ - स्कटल्यान्डको रेन्जर्सले बिहीबार राति जर्मन बुन्डेसलिगाको क्लब आरबी लाइपलिगलाई ३–१ तथा समग्रमा ३–२ ले हराउँदै युरोपा लिगको फाइनलमा स्थान बनाएको छ। जर्मनीकै अर्को क्लब इन्ट्राचट फ्रांकफर्टले इंग्लिस प्रिमियर लिगको क्लब वेस्ट ह्याम युनाइटेडलाई हराउँदै फाइनलमा स्थान बनाएको छ।
रेन्जर्सले पहिलो लेग १–० ले हारेको थियो। तर, घरेलु मैदानमा सम्पन्न दोस्रो लेगमा रेन्जर्सले लाइपजिगलाई ३–१ ले स्तब्ध बनाउँदै फाइनलमा स्थान पक्का गरेको हो। गए राति रेन्जर्सलाई जिताउन जेम्स टाभेर्नियर, ग्लेन कामारा र जोन लन्डस्ट्रमले गोल गरेका थिए। लाइपलिगका क्रिस्टोफर एनकुनकुले एक गोल गरेका थिए।
फ्रांकफर्टले गए राति वेस्ट ह्यामलाई १–० तथा समग्रमा ३–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो। फ्रांकफर्टका लागि गए राति राफेल सान्तोस बोरेले २६औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। फ्रांकफर्टले पहिलो लेगमा वेस्ट ह्यामलाई २–१ ले हराएको थियो।